समाज

ताप्लेजुङमा अनिवार्य मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने

ताप्लेजुङमा व्यवसाय सञ्चालकले अनिवार्य नियमित रुपमा मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने भएको छ। संयुक्त बजार अनुगमन टोलीले फुङलिङ बजार क्षेत्रका पसल सञ्चालक तथा व्यवसायीहरुलाई ७ दिनभित्र उपभोक्ताले देख्ने गरी मूल्य सूची राख्न निर्देशन दिएको हो। 

मूल्य सूची राखिएका पसल तथा व्यवसायहरुमा मूल्य सूची अद्यावधिक नगरेको पाईएकोले तत्काल अद्यावधिक गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन टोली संयोजक टंकबहादुर भट्टराईले जानकारी दिए।

एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न उपभोग्य सामान बिक्री गर्ने गरेको पाईएकोले व्यवसायको प्रकृतिका आधारमा दर्ता तथा नविकरणमा आउन समेत व्यवसायीलाई अवगत गराईएको भट्टराईले बताए।

\घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले उपभोक्तालाई खरिद बिल दिए/नदिएको,खरिद बिल फाइलिङ गरी राखे/नराखेको जस्ता बिषयमा समेत अनुगमन गरिएको बताए।

उपभोग्य म्याद हेरेर मात्र थोक बिक्रेताबाट खरिद गर्न,म्याद सकिन लागेका सामानको सूची बनाई सोही अनुसार कारोवार गर्न तथा म्याद नाघेका बस्तु बिक्री बितण नगर्न व्यवसायीलाई अनुरोध गरिएको अनुगमन टोलीले जनाएको छ।

पेय पदार्थ र खाद्यान्न सहितका सामग्री एकै ठाउँमा मिसमास गरी राखेको पाइएकोले अलग–अलग राख्न समेत व्यवसायीलाई जानकारी गराईएको घोर्साइकाे भनाइ छ।  

म्याद सकिएका सामाग्री बिक्रीस्थलबाट निकाली छुट्टै संकेत गरी राखेको बाहेक बिक्रीस्थलमा भेटिए जफत गरी नष्ट गरिदैं आएको अनुगमन टोली सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख घोर्साईले बताए।

उनका अनुसार कार्ययोजना बनाएर नियमित रुपले बजार अनुगमन गरिदैं आएको छ। व्यवसाय दर्ता तथा नविकरणमा नआएका पसलहरुलाई निश्चित अवधि प्रदान गरी बैधानिक प्रकृयामा आउन भनिएकोले अर्को अनुगमनका क्रममा कानुन अनुसार गरिने अनुगमन टोलीले जनाएको छ। 

प्रकाशित: २८ वैशाख २०८१ १३:२९ शुक्रबार

#Taplejung #Business operator #Fungling Market #Assistant Chief District Officer #Monitoring Team Coordinator #Tank Bahadur Bhattarai