समाज

क्यानडा र बेलायत पठाउने भन्दै ठगी, दुई जना प्रहरी फन्दामा

बेरोजगार युवायुवतीलाई आकर्षक तलब पाउने गरी क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल  प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं र गोरखाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ का ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका–८ का ३४ वर्षीय धमेन्द्र श्रेष्ठ छन्।

आलेले ६ जना व्यक्तिलाई क्यानडा पठाइदिने भन्दै ३६ लाख उठाएर ठगी गरेको आरोप रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले क्यानडा जान प्रतिव्यक्ति १७ लाख लाग्ने र उता पुगेपछि मासिक १ लाख ८० हजार तलब पाइने भन्दै प्रलोभनमा पारेर रकम असुली गरेका थिए।

तर, रकम लिएर काम नगरिदिएको भन्दै पीडितहरू वैदेशिक रोजगार विभागमा पुगेका थिए। सोही आधारमा उनलाई गोरखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै तनहुँका श्रेष्ठले बेलायत पठाइदिने भन्दै दुई जना व्यक्तिबाट ९ लाख ५० हजार रकम लिएर ठगी गरेको प्रहरीले जनाएको छ। सोही आधारमा उनलाई गोङ्गबुबाट पक्राउ परेको बताइएको छ।

दुबैजनालाई थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ। 

प्रकाशित: २६ वैशाख २०८१ १७:३१ बुधबार

#Nepal Police