समाज

मनास्लु क्षेत्रमा हिउँ चितुवाका १३ वयस्क देखिए

मनास्लु क्षेत्रमा क्यामेरामा कैद भएको हिउँ चितुवा। तस्बिर सौजन्यः बिक्रम श्रेष्ठ

हिउँ चितुवाबारे अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताले गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा हिउँ चितुवाका १३ वटा वयस्क र दुईवटा बच्चा देखिएको बताएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा वयस्क र बच्चा गरेर १५ वटा हिउँचितुवा गणना भएको अनुसन्धानकर्ताको भनाई छ।  

एमक्यापको हिउँ चितुवाको बसोबास हुने मुख्य क्षेत्रभित्रको विभिन्न ठाउँमा राखिएको क्यामेरामा १३ वटा वयस्क र दुइवटा बच्चाको तस्बिर कैद भएको अनुसन्धानकर्ताको भनाई छ। चेक रिपब्लिकको द चेक एकेडेमी अफ साइन्सको ग्लोवल चेन्ज रिसर्च इन्स्टिच्यूट (जिसिआरआई) मा आवद्ध अनुसन्धानकर्ता डा. विक्रम श्रेष्ठका अनुसार मनास्लु क्षेत्रको करिब ६ सय वर्ग किलोमिटर क्षेत्रभित्रको अध्ययन हिउँ चितुवाबारे अध्ययन गर्दा १३ वटा वयस्क र दुइवटा बच्चा देखिएका थिए।    

‘सिंगो मनास्लु क्षेत्रभरि हिउँ चितुवा बस्ने होईन। हामीले हिउँ चितुवा बस्ने मुख्य ठाउँलाई आधार बनाएर अनुसन्धान गरेका हौ,’ श्रेष्ठले भने, ‘हाम्रो अनुसन्धानमा १३ वटा वयस्क र दुईवटा बच्चा गणना भएको हो। हिउँ चितुवाको बसोबास हुने मुख्य भेग समेटिएको हुनाले अरु संख्या छुट्ने उत्तिसारो सम्भावना हुँदैन। तर, १–२ वटा तलमाथि पर्न सक्छन । यो संख्या धेरै नै तलमाथि हुँदैन।’ गणना भएका बच्चा भने ६ देखि ९ महिनासम्मका उमेरका हुन्।  

श्रेष्ठ सहित वन विज्ञान अध्ययन संस्थान हेटौंडाका स्नातकोत्तर अध्ययनरत विद्यार्थी सचेत तिमिल्सेना सहभागि यो अनुसन्धान मनास्लुको पश्चिम क्षेत्रमा पर्ने नुब्री उपत्यकाको भी देखि साम्दोसम्म र पूर्वि क्षेत्रको चुम भ्यालीको चुम्लिङदखि मुगोम्बा कालुङसम्म गरिएको थियो। यो क्षेत्र हिउँ चितुवा बस्ने मुख्य थलो हो। पश्चिम क्षेत्रमा २०२० नोभेम्बरदेखि २०२१ को जनवरीसम्म र पूर्वि क्षेत्रमा २०२१ डिसेम्बर देखि २०२२ फेब्रुअरीसम्म अध्ययन गरिएको थियो । दुवै ठाउँमा ६०–६० दिन अध्ययन गरिएको श्रेष्ठले बताए।  

‘हिउँ चितुवाको बसोबास हुने ‘कोर एरिया’मा हामीले क्यामेरा राखेर ट्रयाक गरेका थियौं। त्यही भएर यो संख्यामा धेरै नै फरक पर्ने रहन्न,’ उनले भने। उनका अनुसार हिउँ चितुवाको बसोबास हुने करिब ७० प्रतिशत क्षेत्रफल कभर भएको छ। केही भाग छुटेको भएपनि त्यहाँ धेरै संख्या रहन्न।

 ‘एकाध संख्या केही थपिन सक्छन । माथिल्लो क्षेत्रमा हिमाल र तल्लो भेगमा जंगल भएकोले बसोबासभित्रै रहेर अध्ययन गरेका हौ,’ उनले भने, ‘अहिलेको गणनाले ९० प्रतिशत संख्यालाई प्रतिनिधित्व गर्छ।’  

उनका अनुसार हिउँ चितुवाले आफ्नै क्षेत्र निर्धारिण गरेर बसेका हुन्छ। एउटा हिउँ चितुवा अर्काे क्षेत्रमा नजान पनि सक्छ। एउटा पोथी भएको ठाउँमा अर्काे पोथी आउने सम्भावना कम हुन्छ। भाले बरु दुइवटा पोथी भएको ठाउँमा जान सक्छ। ‘हिउँ चितुवाले एकअर्काको क्षेत्रमा हत्तपत्ति हस्तक्षेप गर्दैन। त्यसैले पनि संख्यामा उत्तिसारो फरक पर्दैन,’ उनले भने।  

हिउँ चितुवालाई पहिचान गर्नेगरि पश्चिम र पूर्वी गरि दुइठाउँमा १२० वटा क्यामेरा राखिएको थियो। ती क्यामेराले चितुवाको तस्बिर कैद गरेका थिए। दुइवटा उपत्यकाको सबैगरि ६ सय वर्ग किलोमिटर क्षेत्रलाई समेट्नेगरि ती क्यामेरा राखिएको थियो। ती क्यामेरा समुन्द्री सतहको २५ सय मिटरदेखि ५ हजार मिटरमाथिसम्म राखिएका थिए।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)क्षेत्रमा हिउँ चितुवाको अध्ययन यसअघि भएपनि ती प्रारम्भिक मात्र थिए। हिउँ चितुवाको वास्तविक संख्या, बसोबास, आहारविहार, जलवायु परिवर्तनको असर लगायतबारे अध्ययन गरिने पनि उनले बताए। हिउँचितुवाको आहारविहार, जलवायु परिवर्तनको असरबारे अन्तिम निष्कर्ष केही समयमा निकालिने उनले बताए।

श्रेष्ठले यसअघि नेपालको हिमाली भेगमा हिउँचितुवाको अवस्थाबारे अध्ययन गरेका थिए। उनले सन् २०२१ मै सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हिउँ चितुवाबारे अध्ययन गर्दै विद्यावारिधी पुरा गरेका थिए। श्रेष्ठले सन् २००४ देखि नेपालको हिमाली भेगको हिउँ चितुवाबारे अध्ययन थालेका थिए।  

प्रकाशित: २६ वैशाख २०८१ १३:१९ बुधबार

गोरखाको मनास्लु क्षेत्र हिउँ चितुवा