समाज

राप्ती बगरमा भारतीयले फलाए तर्बुजा

‘पसिना बगाउन सके बालुवामा पनि सुन फल्छ’

बाँकेस्थित राप्ती नदीको बगरमा फलाएको तर्बुजा। तस्बिर: अर्जुन ओली/नागरिक

भारत, हरियानाका ५८ वर्षीय ‘जिरिफ’ मेहनतमा विश्वास गर्ने किसान हुन्। सधैं आफ्नै देशमा खेती गर्ने उनी यसपटक भने नेपालमा आएर आफ्नो सिप प्रदर्शन गरिरहेका छन्।

बाँकेको डुडुवास्थित राप्ती नदीको बगरमा अचेल उनी पसिना बगाइरहेका छन्। आफ्नो स–परिवारसहित आएर बगरमा बस्न थालेको करिब ६ महिना जति भएको छ। राप्ती बगरमा ‘सुन फलाउने’ परिवारको सपना साकार हुदैछ।

केही समय अगाडीसम्म बालुवा मात्रै देखिने राप्ती बगरमा अहिले तर्बुजा लटरम्म फलेका छन्। ‘राप्ती नदीको बगर प्रयोगमा नआएर त्यसै खाली अवस्थामा थियो, यहाँका जग्गा धनीले तर्बुजा खेतीका लागि सहमति दिनुभयो, अनि हामीले खेती गर्‍यौँ,’ भारतीय नागरिक जिरिफले भने।

तर्बुजा खेती गर्नमा स्थानीय सरकारको पनि साथ रहेको उनले बताए। आफुले मात्रै करिब २५ बिघा बराबरको राप्ती बगरमा तर्बुजा खेती गरेको सुनाए। तर्बुजा खेती गर्न आफ्नो परिवारका मात्रै ७ जना सदस्य भारतबाट आएको बताए। मेहनत अनुसार तर्बुजाको उत्पादन राम्रै देखिएको जिरिफले सुनाए।

जिरिफ जस्तै हरियानाबाट अन्य ७ परिवार पनि तर्बुजा खेती गर्नका लागि राप्तीको बगरमा बसेका छन्। उनीहरुले राप्ती नदीको बगरमै ८ वटा बोरिङ गाडेका छन्। बोरिङ पानीको मद्दतले तर्बुजा खेतीमा सिँचाइ गर्छन्। उनीहरुले दिनरात खेतीमै समय ध्यान दिन्छन्। उनीहरु खेतमै खाना खान्छन् र खेतमै सुत्छन्। सुत्न र बस्नका लाग साना फुसका छाप्रा बनाएका छन्। भारतीय नागरिकले डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा पर्ने करिब १ हजार बिघा क्षेत्रफल रहेको बगरमा तर्बुजा खेती गरेका छन्। भारतीयले नेपाली किसानलाई आफ्नो सिप हस्तान्तरण गर्न चाहेका छन्।

नेपालगन्जका तरकारी व्यवसायी बाबु कबाडियाले हरेक वर्ष गर्मीयाममा तर्बुजा भारतबाट खरिद गर्दै आएकोमा यस वर्ष आफ्नै ठाउँमा खेती भएकाले परनिर्भरता कम भएको बताए। ‘यस वर्ष हाम्रै ठाउँको राप्ती नदीको बगरमा तर्बुजा खेती भएको छ, भारतीय नागरिकले निकै मेहनत गरेर अर्ग्यानिक तर्बुजा फलाएका छन्,’ उनले भने ‘प्रयोगमा नआएको राप्तीको बगरमा मेहनत गरेपछि सुन पनि फल्छ भन्ने उदाहरण भारतीय नागरिकले देखाएका छन्।’

भारतीयको सिपलाई प्रयोग गरेर नेपालीले आफ्नै ठाउँमा तर्बुजा खेती गर्न सके विदेश जानुपर्ने बाध्यता हट्ने उनी बताउँछन्। 

बाँकेको राप्ती नदीमा फलेको तर्बुजाको अहिले व्यावसायिक रूपले बिक्री सुरु भईसकेको छ। अहिले प्रतिकिलो १८ देखी २० रुपैयाँमा थोक मुल्यमा तर्बुजा बिक्री गरिरहेको उनले सुनाए। राप्ती बगरमा उत्पादित तर्बुजा नेपालगन्जसहित धनगढी, पोखरा, लमही, बुटवल, नारायणघाट लगायत बजारमा पठाउन सुरु गरिसकेको व्यवसायी कबाडियाले बताए। ‘भारतीय नागरिकले उत्पादन गरेको तर्बुजा हामीले खरिद गरेर विभिन्न सहरमा पठाउने काम गरिरहेका छौँ, कम्तीमा पनि ५ सय मेट्रिक टन उत्पादन हुने अनुमान छ,’ उनले भने।

जिल्लामा यति धेरै क्षेत्रफलमा मुलुक बाहिरका नागरिक आएर तर्बुजा खेती गरिरहँदा नेपाल सरकारका निकाय बेखबर जस्तै भएको व्यवसायी कबाडियाले सुनाए। ‘भारतीय नागरिक आएर गरेको तर्बुजा खेतीलाई प्रत्यक्ष अवलोकन गराएर कृषि ज्ञान केन्द्रले नेपाली किसानलाई सिकाउन सक्नुपर्थ्यो, यहाँ आएर अवलोकन गरिदिन आग्रह गर्दा पनि कृषिका कर्मचारीले मतलब गरेनन्,’ उनले भने ‘खेर गइरहेको हाम्रो देशका नदी खोला बगरलाई सदुपयोग गर्नका लागि नेपाली किसानलाई पनि सिकाउन आवश्यक छ।’

राप्ती नदीले बर्षेनी बाँकेका खेतीयोग्य जमिन कटान र पटान गर्दै आएको छ। राप्तीले त्यसरी कटान गरेको जमिन बगरमा परिणत हुँदै गएका छन्। बगरमा परिणत भएका जमिनलाई सदुपयोग गर्न वर्षमा सिजन भएपनि तर्बुजा लगायत बेमौसमी तरकारी खेती गर्न सकिने भारतीय किसानको सुझाव छ। 

बाँके डुडुवा वडा नम्बर ५ सिधनियाका दिनेश खटिकले ५० वर्ष अगाडी कटान भएको आफ्नो जमिन अहिले राप्तीको बगरमा रहेको बताए। कटान गरेदेखि जमिन प्रयोग गर्न नसकिएको उनले सुनाए। बगरमा परिणत भएको आफ्नो जमिनमा अहिले भारतीय नागरिक आएर तर्बुजा लगायत बेमौसमी तरकारी फलाउँदा उनी दङ्ग परेका छन्।

‘हाम्रो मात्रै करिब ४० बिघा जमिन राप्तीको बगरमा छ, हामीले यो जमिनलाई प्रयोग गर्नै सकेका थिएनौँ, भारतीय नागरिक आएर तर्बुजा फलाएर देखाउँछौँ, जमिन प्रयोग गर्न दिनुस् भनेपछि निःशुल्क दियौँ,’ खटिकले भने ‘अहिले तर्बुजासहित बेमौसमी तरकारी फलेको देख्दा हामीलाई पनि रहर लागेको छ, पसिना बगाउन सकेमा बालुवामा पनि सुन फल्दो रहेछ।’

प्रकाशित: २५ वैशाख २०८१ १९:१७ मंगलबार

#indian people #Watermelon #Rapti River