समाज

मालपोतका नासु ३० हजार घुससहित रंगेहात पक्राउ

कपिलवस्तुको तौलिहवा स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियारको बुटवल स्थित कार्यालयका प्रहरी निरीक्षक मुकुन्द गौतमको अगुवाइमा आएको १३ सदस्यीय टोलीले खनाललाई उनको सरकारी डेराबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो।

सोमबार दिउँसो सवा चार बेजेतिर भूमिसुधार कार्यालयको माथिल्लो तल्लामा रहेको आफ्नो डेरामा घुस सहित उनी रंगेहात पक्राउ परेकाे अख्तियार स्रोतले जनाएको छ।

स्रोतका अनुसार खनालले बिगो नखुलेको शेष पछिको दालिखा खारेज गर्न सहजीकरण गरे बापत सो घुस लिएका थिए।

मालपोतका मुद्दा फाटका प्रमुख रहेका खनालले सेवाग्राहीसँग घुसको मोलमोलाई गरेका थिए। उनले सो घुस लिन सेवाग्राहीलाई आफ्नो डेरामा बोलाएका थिए।

पक्राउ परेका खनाललाई अख्तियारको बुटवल स्थित कार्यालयमा लगिएको छ। मंगलबार उनलाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं लगी बयान लिने जनाइएको छ।

प्रकाशित: २४ वैशाख २०८१ २०:२६ सोमबार