समाज

कर्णाली राजमार्गबाट गाउँ पस्दै समृद्धि

विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ। सडक, विद्युत्, सञ्चारलगायतका सेवा विस्तारसँगै कर्णाली असुविधा र विकटताबाट सुगमता र सुविधायुक्त बन्दै गएको हो।

पिछडिएको, राज्यको उपेक्षामा परेको, मानव विकास सूचकांकमा कमजोर रहेको भनिने कर्णाली अब विकासको बाटोमा लम्किँदैछ। जसको ज्वलन्त उदाहरण हो, कर्णाली राजमार्ग। कर्णाली राजमार्ग गाडी हिँड्ने सडक मात्र होइन, समृद्धिको मार्ग पनि भएको छ। यसले विकासको ढोका खोल्ने काम त ग¥यो नै, अहिले विकास ओसार्ने राजमार्गका रूपमा यो परिणत भएको छ।

नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्डका रूपमा हेरिन्छ। सुर्खेतको बांगेसिमलदेखि दैलेख, कालीकोट हुँदै एकातर्फ जुम्ला, नेपालकै भूस्वर्ग मुगुको राराताल अर्कातर्फ कालीकोट, बाजुरा हुँदै नेपालकै सडक सञ्जालसँग जोडिनबाट वञ्चित हुम्लासम्म जोड्ने कर्णाली करिडोरले यो प्रदेशमा विकासको मूल फुटाएको छ, गाउँलाई सहर बनाएको छ।

कालीकोटको पलाँता गाउँपालिका–९ का टक्कबहादुर बमले भने, ‘पहिले हामी राजापुर ३३ दिन लगाएर नुन लिन जाँदा थियौं। अहिले त बिहान घरबाट हिँडेर बेलुका राजापुर, अर्को दिन फेरि घर पुग्न सकिने अवस्था छ।

कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि हाम्रो त थाप्लोको भारी चौतारीमा बिसाएजस्तै भएको छ।’ पञ्चायतकालदेखि निर्माण थालिएको कर्णाली राजमार्ग तत्कालीन राजाको हुकुमबमोजिम नेपाली सेनामार्फत २०६३ चैत ३० गते निर्माण सम्पन्न भई पहिलो पटक सुर्खेतदेखि जुम्लामा गाडी गुड्यो। यसले अपर कर्णालीको विकासको ढोका नै खोलिदियो।

पहिलेका गाउँहरू अहिले कर्णाली राजमार्ग र कर्णाली राजमार्गसँगै जोडिएको कर्णाली करिडोरका कारण सहर बन्दै गएका छन्। कर्णाली राजमार्ग निर्माण कार्य पनि अहिले चलिरहेको छ। दैलेख, कालिकोट, जुम्ला र मुगुको कठिन सडकलाई ममर्मत गरी सुधार गरिएको छ।

सिंजा उपत्यकादेखि मुगु जाने सडकमा कालोपत्र सुरु गरिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्ला १३२ किलोमिटर र जुम्लादेखि मुगु ९६ किलोमिटरमा नियमित गाडी गुडिरहेका छन्।

कर्णाली करिडोरको पनि कालीकोटको खुलालुदेखि बाजुरा र हुम्लाको सिमाना कवाडी हुँदै सलीसल्लासम्मको १८४ किलोमिटरमा सडक निर्माण कार्य सम्पन्न भइसकेको छ। यसअन्तर्गत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ र हुम्ला खण्डमा १०१ किलोमिटर सडक पर्छ। बाँकी ६ किलोमिटर सडक निर्माणको अन्तिम चरणमा छ।

सुर्खेतको बांगेसल्लादेखि दहीखोलासम्म १२६ किलोमिटर कर्णाली राजमार्ग खण्डमा पक्की सडक निर्माण गरिएको छ। कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको करिब १२२ किलोमिटर सडकमा यातायातसमेत सञ्चालन हुँदै आएको छ।

दैलेखको आठबिस नगरपालिका मानबहादुर थापाका अनुसार हाल सडकले गर्दा व्यापार पनि राम्रो भएको छ। अहिले गाउँगाउँमा गाडी पुगेको उनले बताए। भारी बोक्ने भरिया पनि घटेको, दुःखका दिन गएको आफूलाई महसुस हुने गरेको उनको भनाइ छ। हाल आएर गाउँपालिकाका केन्द्रसम्म सडकको पहुँच पुगेपछि गाउँमै व्यापार गर्न बजार बनेको स्थानीयको भनाइ छ।

पहिले केही वर्ष अत्यधिक व्यापार हुने कालीकोटको जितेबजार अहिले सुकेको छ। रास्कोट, पलाँतादेखि बाजुरा हुँदै हुम्लासम्म पुग्नेले मालसामान किन्ने एक मात्र बजार थियो जितेबजार। अहिले कर्णाली करिडोरको बाटो हुँदै हुम्लासम्म सडक पुगेपछि यहाँका बासिन्दालाई धेरै सहज भएको छ।

प्रकाशित: २१ वैशाख २०८१ ०७:५१ शुक्रबार

कर्णाली राजमार्गबाट गाउँ पस्दै समृद्धि विकास र समृद्धि असुविधा र विकटता