समाज

मकैमा दाना नलागेपछि किसान मारमा

कलैया – हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन्। 

बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन्। कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ। 

मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए। यस वर्ष किसानले कूल हिउँदे मकै चार हजार ६३५ हेक्टरमा हाईब्रिड जातका पाइनियर ३५२२, ३७८५ र बिस्को ९४० जातका मकै लगाएका छन्।

बाराको सिमरा, डुमरवाना, फत्तेपुर, इनर्वाशिरा, निजगढ, रतनपुरी, कोल्हवी, सपही, नरही, सिम्रौनगढ, वरियापुर र सुखि पथरामा करिब तीन हजार ५२० हेक्टरमा लगाइएको मकैको घोगामा दाना नलागेका साहले बताए। गतवर्ष कृषकले चार हजार ६५३ हेक्टरमा खेती गरी प्रति हेक्टर ७ दशमल ८० मेट्रिक टनका दरले ३६ हजार १५३ मेट्रिक टन हिउँदे मकै उत्पादन गरेका थिए। 

प्रकाशित: ७ चैत्र २०७४ ०८:१९ बुधबार