समाज

खानेपानीको मुहानमा विषादी भेटियो

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका३, काप्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ। 

काप्राकका स्थानीयले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए। 

खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका  ३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिए। यहाँका ४५ घरधुरीले त्यस मुहानबाट खानेपानीको प्रयोग गर्दै आइरहेका छन्। 

मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। ‘कुन विषादी हालिएको भन्ने कुरा पानीको परिक्षणपछि मात्र थाहा हुन्छ’ केसीले भने, परिक्षणको लागि प्रयोशालामा पठाइएको छ।’

मुहानमा कसले किन विषादी हाल्यो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने केसीले बताए। मुहानसम्बन्धी विवादका कारण स्थानीयले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन समेत दिएका छन्।

प्रकाशित: ७ चैत्र २०७४ ०६:१८ बुधबार