समाज

भरतपुर महानगरले किसानलाई दियो बाख्रा र हाँसको चल्ला

भरतपुर महानगरपालिकाले किसानलाई बाख्रा र हाँसका चल्ला वितरण गरेको छ। निर्वाह मुखी कृषि कर्म गरिरहेका किसानलाई प्रोत्साहन गर्न बाख्रा र हाँसका चल्ला वितरण गरिएको हो।

महानगरपालिकाले शनिबार वडा नम्बर-२२ का ३९ जना किसानलाई बाख्रा र हाँसका चल्ला वितरण गरेको हो। शनिबार १९ जना किसानले ५० वटाका दरले हाँस र २० जनाले २ वटाका दरले बाख्रा र बोका पाएका छन्।

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्।

उनले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। ‘यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ। राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई दुई लाखका दरले वितरण गरिनेछ,’ उनले भनिन्।

भरतपुर महानगरपालिका वडा नम्बर-२२ का अध्यक्ष विष्णुराज महतोले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए।

नव महिला कृषक समूहका अध्यक्ष कष्ण कुमारी महतोले हाँस बेचेर छोरा छोरीको पढाइमा खर्च गर्ने बताइन्। उनले निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्।

गत वर्ष पनि १५ परिवारलाई बाख्रा वितरण गरिएको थियो।

प्रकाशित: १५ वैशाख २०८१ १८:१६ शनिबार