समाज

जीवनबुटी खोज्दै पाटनमा

मिसन यार्सा

यार्सागुम्बा टिप्न पाटन जाँदै गरेका जुम्ला पातारासीका युवा। तस्बिर: गोल्डेन/नागरिक

जुम्लाको पातारासी गाउँपालिका–६, उर्थु गाउँका चक्रबहादुर बेहोरा अहिले यार्सागुम्बा संकलनका लागि पाटनतिर छन्। उनले एक साताअघि नै घर छाडेका हुन्। स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा संकलन गर्न जानुपरेको उनी बताउँछन्।

यार्सा पाइएमा वर्ष दिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाइ नहुने उनी बताउँछन्। ‘यहाँका अधिकांंश युवा पाटनमा गएर यार्सा संकलन गर्छन्,’ उनी भन्छन्। दुई महिना खटिएर पाटनमा यार्सा टिप्न सके कालापहाड जानुनपर्ने अनुभव उनको छ। पातारासी गाउँपालिकाको आयआर्जनको मुख्य स्रोत भनेकै यार्सा बनेको छ। यहाँका स्थानीयले वर्ष दिनका लागि आर्थिक जोहो यार्साबाटै गर्दै आएका छन्। त्यसैले यसपटक पनि उनीहरू यार्सा पाइने उच्च हिमाली पाटनहरूमा पुगेका छन्।

उर्थु गाउँकै धनसिंह बोहोरा पनि यार्सा संकलनका लागि पाटनतिर हिँडेका छन्। खेतीपाती खासै नभएकाले र त्यसले वर्षभरि खान पनि नपुग्ने भएकाले खर्च जुटाउन यार्सा संकलन गर्नुपरेको उनले बताए। यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपार्जनको स्रोत नै जडीबुटी हो। घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन। घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउन, लुगाफाटो किन्नसमेत यार्सा संकलन गर्न जानुको विकल्प छैन। बोहोराले भने, ‘मकै, आलु, कोदो, चिन्नु, गोडमेल र घरायसी सबै काम महिलाले गर्छन्। घरका सबै सामान जोहो गर्न यार्साकै भर पर्नुपर्ने अवस्था छ।’

उर्थुकै युवा रामबहादुर विष्ट पातारासी गाउँपालिका ग्रामीण क्षेत्रका सर्वसाधारण यार्सा संकलनार्थ बर्सेनि पाटनतर्फ जाने गरेको बताउँछन्। जेठ लागेदेखि पातारासी क्षेत्रका वृद्धवृद्धा पनि बालबच्चा बोकेर पाटनतर्फ जाने तयारीमा रहेको उनी बताउँछन्।

 पातारासी गाउँपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख अविराज उपाध्याय वडा १, २ र ३ का माथिल्ला कक्षामा पढ्ने अधिकतर विद्यार्थी पनि पाटन पुगिसकेको बताउँछन्। प्रधानाध्यापकहरूले अघिल्ला वर्षभन्दा तुलनामा भने यो वर्ष कम विद्यार्थी पाटन गएको रिपोर्टिङ गरेको उनी बताउँछन्।

उपाध्यायले केही दिनअघि उक्त गाउँपालिकामा रहेका सबै विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा ७५ प्रतिशत हाजिर र ३३ प्रतिशत पढाइ नभए माथिल्लो कक्षामा लागि योग्य नहुने निर्णय गरिएको जानकारी दिए। विद्यालयहरूले पत्रमार्फत सूचना पठाएरै अभिभावकलाई सो निर्णयबारे सचेत गराएको उनको भनाइ छ।

पातारासी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा निमावि र मावि ६÷६ वटा तथा प्रावि चारवटा छन्।

उनले भने, ‘यार्सा संकलन गर्ने समयमा दुई महिना विद्यार्थी विद्यालय नै आउँदैनन्।’ एक दशकदेखि यो क्रम जारी रहेको उल्लेख गर्दै उनले यसले पठनपाठनमा असर पारेको जानकारी दिए। यतिबेला कम्तीमा ५० प्रतिशत विद्यार्थी पाटन पुग्छन्। ‘विशेषगरी निमावि र माविस्तरमा पढ्ने विद्यार्थी लेकतिर जान्छन्,’ उनी भन्छन्।

जुम्लाकै गुठीचौर गाउँपालिका–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले वैशाख पहिलो सातादेखि १ र २ वडाका युवकयुवती पनि यार्सा टिप्न पाटन जान लागेको बताए। प्रतिदिन १० देखि २० जनासम्म यार्सा टिप्न पाटनतिर लाग्ने गरेको उनको भनाइ छ। गोठीगाउँ, मुरुली, कोल्ते गाउँ मणिसाँघु, मनीगाउँ, चोत्र गाउँका सबै बेरोजगार युवा त्यता गएको उनी सुनाउँछन्।

अहिले गाउँमा बालबालिका, महिला ज्येष्ठ नागरिक मात्रै छन्। तातोपानी, सिँजा, कनकासुन्दरी, तिला र चन्दननाथ नगरपालिकाबाट गाउँका पनि १२ वर्षदेखि माथि ५० वर्षभन्दा तलका सबै पाटनतिरै छन्। गाउँमा बिरामीको रेखदेख गर्ने मान्छे भेट्नसमेत मुस्किल छ। मर्दापर्दा मलामी जाने मान्छेढको पनि अभाव देखिएको बुढापाका बताउँछन्।

दुई महिनामै वर्षभरि पुग्ने आम्दानी हुने मोहले अधिकांश युवा बुढाबुढी भइसकेका आमाबाबुलाई पनि एक्लै छाडेर पाटनतिर लागेका छन्। विद्यार्थी विद्यालय छाडेर पाटनतिर उक्लिएका छन्। जुम्लाका ८० प्रतिशत जनसंख्या यार्सा खोज्न पाटनतिर गएको अनुमान छ।

तातोपानी गाउँपालिका–५ ऐरेनी गाउँकी नारायणी चौलागाईंका अनुसार ‘यार्सा टिप्न जानु कसैलाई रहर त कसैलाई बाध्यता छ,’ उनी भन्छिन्, ‘गरिबको रोजीरोटीकै लागि पाटन गन्तव्य बन्छ। गाउँमा रोजगारीको अवसर छैन। ज्यानकै जोखिम मोलेर भए पनि नातेदारसँग धेरैजना लेकतिर लागेका छन्।’

स्थानीय सरकारले रोजगार प्रवद्र्धन हुने कार्यक्रम नल्याउँदा पनि युवाहरू पाटन जान बाध्य भएको यार्सा टिप्न लेकतिर लागेका जुम्लावासीको भनाइ छ। युवा उद्यमशीलताका विभिन्न कार्यक्रम अघि सारेर रोजगारी सिर्जना गर्ने स्थानीय सरकारको नारा नारामै सीमित बनेको उनीहरूको बुझाइ छ।

प्रकाशित: १५ वैशाख २०८१ ०६:४३ शनिबार

जीवनबुटी खोज्दै पाटनमा मिसन यार्सा स्थानीय सरकार