समाज

डढेलोको लप्काले पाँच घर जलेर नष्ट

आगोले जलेर नष्ट भएको अशोक राईको घर। तस्बिर : नागरिक

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा जंगलमा लागेको डढेलो फैलिँदा घर र गोठ जलेर नष्ट भएका छन्। स्थानीय वनमा सल्केको डढेलोको लप्का गाउँबस्तीमा पस्दा लिमचुङबुङ– ५ मा  पाँच घर र गोठ जलेका हुन्।

स्थानीय मकमशेर राईका अनुसार लिमचुङबुङ ५ जाँतेको कुवाखानी जंगलमा आइतबार रातिदेखि सल्केको डढेलो सिप्लिङ खोला हुँदै चौलाने बस्तीनजिक पुगेर सोमबार दिउँसो घर गोठ जलाउन पुगेको हो। स्थानीयले रातभर मिलेर नियन्त्रणोन्मुख पुर्‍याएको डढेलो ठुटोमा निभ्न बाँकी रहेको आगो चर्को हावाहुरीले झिल्को बस्तीसम्म पुग्दा घरगोठ जलेको राईले बताए।

आगोले स्थानीय अशोक राईको घर, मतान र गोठ, बयानसिंह राईको घर, मतान र गोठ जलेर नष्ट भएको स्थानीय राईले बताए। आगोले अशोक र बयानसिंहकै घरनजिक रहेको कुमार राईको गाई–भैँसी बाँध्ने गोठ जलेर नष्ट भएको छ। नजिकैको निरबहादुर राईको घर र गोठ भने स्थानीयबासी छानामै चढेर पानी खन्याएकाले बालबाल बचेको छ।

आगोले अशोक राईको ढुङ्गामाटोले बनेको फुसको छानावाल दुईतले घर, एकतले मतान र गाई बाख्रा बाँध्ने गोठ जलेर क्षति भएको हो। त्यसैगरी बयानसिंहको फुसकै छानो भएको एकतले घर, मतान र गोठ जलेको छ। घटना दिउँसै भएकाले मानवीय र चौपाया क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय बाराहा, लिमचुङबुङबाट गएको टोली र स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिएको बताइएको छ। वडाध्यक्ष कविचन्द्र राईका अनुसार आगलागीबाट अशोकको २ लाख ५० हजार, बयानसिंहको ३ लाख र कुमारको एक लाख रुपैयाँबराबरको क्षति भएको छ।

वडाध्यक्ष राईले आगलागी पीडितलाई गैरसरकारी संस्था जाल्पा एकीकृत विकास समाजले तत्कालीन सामान्य राहत उपलब्ध गराएको र वडाले पनि राहत दिने तयारी गरिरहेको बताए। उनले नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रशासन र गाउँपालिकालाई पनि आवश्यक राहत उपलब्ध गराउन सिफारिस गर्ने बताएका छन्।

प्रकाशित: १० वैशाख २०८१ १५:२२ सोमबार

डढेलोको लप्का पाँच घर नष्ट