समाज

गोब्रेकिराको त्यो ४८ घण्टा

यस्ताे पनि!

संसारभर चार लाखभन्दा बढी प्रजातिका गोब्रेकिरा पाइन्छन्। गोब्रे प्रजातिका यी किरामध्ये अधिकांशको आनीबानी मिल्छ। पछिल्लो समय कालो रङको चेफर गोब्रेकिराको दैनिकी ४८ घण्टे हुने अनुसन्धाताहरूले पाएका छन्। यसका लागि ती गोब्रेकिरामा भएको केही विशेष किसिमका जिनले भूमिका खेलेको देखिएको छ।

कालो रङको चेफर बिटल (गोब्रे) दिउँसो जमिनमुनि आराम गर्न छिर्छ भने रात परेपछि खाना तथा यौन सम्बन्धका लागि निस्कने गर्छ। ४८ घण्टासम्म ऊ निरन्तर रूपमा बाहिर खाना र यौनिक गतिविधिका अवसर खोज्छ।

गोब्रेकिराहरूबीच यौनिक गतिविधि दुर्लभ हुने हुँदा ४८ घण्टे मिहिनेत गर्नुपर्ने देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। यो अध्ययन करेन्ट बायोलोजीमा प्रकाशित भएको साइन्टिफिक अमेरिकन म्यागेजिनले जनाएको छ।

अध्ययनमा संलग्न क्यालिफोर्निया विश्वविद्यालयका केमिकल इकोलोजिस्ट वाल्टरको समूहले गरेको अध्ययनमा यी गोब्रेकिरामा भएको एउटा जिनको सेटमार्फत खास किसिमको गन्ध छाड्छन्।

खासगरी पोथी गोब्रे किराले निकाल्ने तिनै गन्ध भालेहरूले  पछ्याउँदै जानुपर्ने हुन्छ। यसका लागि समय चाहिन्छ। यो ४८ घण्टामा भालेले पोथी फेला पार्‍यो भने यी दुईको सम्बन्धबाट थप पुस्ता जन्मन्छन्। यस्तो नभए भाले र पोथीहरू ४८ घण्टापछि दिउँसो आराम गर्छन्। दिनभरिको आरामपछि फेरि उनीहरूको ४८ घण्टे पोथी खोज्ने र खाना खोज्ने क्रम चल्न थाल्छ।

पोथीले आफ्नो शरीरबाट त्यसैबीचमा फेरोमेन उत्पादन गर्छे। भालेले त्यो फेरोमेनको गन्ध नहराउञ्जेलसम्म पोथी फेला पारिसक्नुपर्छ। त्यसपछि भालेपोथीबीचको सम्बन्धले वंश कायम रहन्छ। त्यो गन्ध हराइसकेपछि भालेले जतिसुकै प्रयास गरे पनि पोथीसँग संसर्गको अवसर जुराउन सक्तैन।

एकातिर पोथीहरूको फेरोमेन फेला पार्न सकिने सम्भावनाको अवधि र भालेहरूको खाना खोज्न निस्कने अवधिबीच ठ्याक्कै मेल खाने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका हुन्। ‘प्रकृतिले यी जीवजन्तुको दैनिकी पनि यति मज्जाले मिलाइदिएको छ भन्ने प्रयोगबाटै थाहा पाउँदा हामीलाई खुसी लागेको छ,’ अध्ययनमा संलग्न रेनसिलर पोलिटेक्निक इन्स्टिच्युटकी जीव वैज्ञानिक जेनिफर हर्ली बताउँछिन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ७ वैशाख २०८१ ०५:३८ शुक्रबार

गोब्रेकिराको त्यो ४८ घण्टा क्यालिफोर्निया विश्वविद्यालय यस्ताे पनि!