समाज

कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने

कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ। कामको सिलसिलामा वा अन्य देश पुग्ने उद्देश्यले कुवेत ट्रान्जिट परी अलपत्रमा भएका युवा, त्यहाँको भिसा नियम उल्लघंन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीका लागि कुवेतले आममाफी कार्यक्रम सुरु गरेको हो।

अलपत्रमा परेका तथा अवैध रूपमा बसेका आप्रवासी श्रमिकका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो। विभिन्न देशबाट कुवेत पुगेका युवा जरिवानाका कारण आफ्नो देश फर्कन पाएका थिएनन्।

अवैध रूपमा कुवेत पुगेका युवा आफ्नो देश फर्कन अत्याधिक जरिवाना तिर्नुपर्दा उनीहरू लुकेर बस्न बाध्य थिए। कुवेतसरकारले शून्य जरिवानामा आफ्नो देश फर्कन पाउने व्यवस्था मिलाएको हो।

विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारलाई हरेक जरिवाना थियो। कुवेत सरकारले १० जनवरी २०१६ को सूचना अनुरूप आवासीय कानून उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई जरिवाना तिरेर आफ्नो देश फर्कन वा भिसा लगाएर कुवेत बस्न पाउने विभिन्न व्यवस्था थियो।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको, आपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका बाहेक गैरकानूनी रूपमा कुवेतमा बसोबास गरिरहेका कामदारहरूले आआफ्नो पासपोर्ट वा राजदूतावासबाट जारी गरिएका (ट्राभल डकुमेन्ट) साथमा लिई कुवेतका गभर्नोरेटअन्तर्गतका भिसा कार्यालय/विभागमा गएर जरिवाना तिरेर नेपाल फर्कन पाउने व्यवस्था थियो। त्यतिबेला जरिवाना तिर्दाको समयमै कुवेत छाडेर स्वदेश फर्कने मिति तोकिने र सोही समयभित्र उक्त कामदारले नेपाल फर्किसक्नुपर्ने नियम थियो।

कुवेतको भिसा नियम उल्लघंन गरेको अवस्थामा कुवेतमा विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ। तर, यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहेमा विनाजरिवाना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुनः कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

१६ देखि ४० वर्ष उमेरका युवा नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक कुवेत पनि एक हो। कुवेतमा एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउनेगरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ। त्यस्तै, गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांकअनुसार ६२ हजार सात सय आठ पुरूष र ४४ हजार सात सय ८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्। घरेलु काममा ३० हजारभन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४.७ प्रतिशत रहेको तथ्यांक छ।

वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४३ हजार पाँच सय सातजना नेपाली युवा श्रम स्वीकृति लिएर कुवेत पुगेका छन्। आवासीय कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका नेपालीहरू भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कुवेती कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा बन्देज नलगाएका विदेशी कामदारहरू घोषित आममाफीभित्र सिधैं आफ्नो देश फर्कन मिल्ने दूतावासले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार कुवेतमा गैरकानुनी रूपमा रहेका विदेशी कामदारलाई तीन महिनाको आममाफीको घोषणा गरिएको हो।

‘आममाफीको सर्त भनेको गैरकानुनी रूपमा बसिरहेका तथा काम गरिरहेका विदेशी नागरिकको हकमा मात्रै हो,’ उनले भने, ‘यसमा कुनै अपराध, मुद्दा मामिलामा तथा अन्य किसिमबाट आएका कुनै जरिवानामा परेका व्यक्तिका लागि होइन। त्यस्ता मुद्दा मामिलामा परेका विदेशी कामदार कुवेतको नियमकानुन पूरा गरेरै आआफ्नो देश फर्कन पाइन्छ।’

उनका अनुसार भिषा नियम उल्लघंन गरेर बसेका वा भिषाको म्याद सकिएका कामदारको हकमा कुवेतमै काम गर्न चाहेमा नयाँ स्पोन्सर खोज्नुपर्छ। ‘विदेशी कामदारले कुवेती ६ सय केडी भिसाको जरिवाना तिरेपछि पुरानो स्पोन्सरको स्वीकृतिमा नयाँ स्पोन्सर खोजेर कुवेतमै बसेर काम गर्न सकिन्छ,’ उनले भने।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी वैध बन्न पाउने दूतावासले जनाएको छ। आपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न र बैंकबाट ऋण लिएका जस्ता हिसाब फर्स्याेट नभएसम्म जान नसक्ने उनले बताए।

गैरकानुनी रूपमा कुवेतमा अवस्थित नेपाली यो सुविधाको प्रयोग गरेर नेपाल समयमै फर्किन दूतावासले अनुरोध गरेको छ। विनाजरिवाना नेपाल फर्कन आममाफी पाएका नेपाली युवा अन्तिम समयमा भीडभाड, विभिन्न कारणले अप्ठेरो पर्ने र आफूले पाउनुपर्ने सुविधाबाट वञ्चित नभई चाँडै नै स्वदेश फर्कदा सहज हुने दूतावासले जनाएको छ।

‘समयअगावै करिब एक महिनापहिले नै यात्रा अनुमतिपत्र दूतावासबाट बनाएर समयमै कामको प्रक्रिया चालेर नेपाल फर्कन अनुरोध गर्न चाहन्छु। गैरकानुनी रूपमा जुन अवस्थामा कुवेत बसिरहनु भएको छ। उहाँहरूलाई विनाजरिवाना स्वदेश फर्कन आममाफीको सुनौलो अवसर हो। यो अवसर नगुमाउँन हार्दिक अनुरोध छ,’ आचार्यले भने।

प्रकाशित: ६ वैशाख २०८१ ०७:३८ बिहीबार

वैदेशिक रोजगारी आप्रवासी श्रमिक