समाज

विज्ञान विषयमा नतिजा कमजोर देखिएपछि प्रयोगात्मक सामग्री हस्तान्तरण

जुम्लाको सिंजा गाउँपालिकाले केही दिन अघि लिएको कक्षा आठको परीक्षामा अधिकांश विद्यार्थी उत्तीर्ण हुन सकेनन्। सिंजाबाट जम्मा ४६ विद्यार्थी मात्र उत्तीर्ण भए।

गाउँपालिका अन्तर्गतको शिक्षा शाखाको प्रारम्भिक अनुमान अनुसार विज्ञान विषयमा असफल हुने विद्यार्थीको संख्या बढी छ। यसबाट विद्यालय तहमा विज्ञान विषयको पढाइ प्रभावकारी नभएको र अधिकांश विद्यार्थीलाई विज्ञान विषय कठिन भएको पुष्टि हुन्छ। 

विद्यालयमा विज्ञान सम्बन्धित सामाग्रीको अभावका कारण पढाउने विधि प्रभावकारी नभएको हुँदा नतिजा खस्किएको हुनसक्ने कुरालाई मध्यनजर गर्दै सैद्धान्तिक कक्षाको साथै प्रयोगात्मक कक्षामा पनि त्यतिकै जोड दिन सिंजा गाउँपालिका-२ चुलेलगाँउमा अवस्थित माध्यमिक विद्यालयलाई विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा संचालीत सशक्त बालिका परियोजना अन्तर्गत उक्त विद्यालयमा विज्ञान प्रयोगशालाको दिगो व्यवस्थापन र संचालन लागि विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।

सिंजा गाउँपालिकाको अगुवाइमा हस्तान्तरण गरिएको सामाग्रीमा ९१ प्रकारको विज्ञानसँग सम्बन्धित सामाग्री छन्। सो सामाग्रीको मूल्य ४ लाख बराबर रहेको छ।

यसले दुर्गमका विद्यार्थीलाई शिक्षण सिकाइमा ठुलो सहयोग पुग्ने बताइएको छ। सामाग्री पाएपछि खुसी देखिएकी कक्षा १० मा अध्ययनरत छात्रा पुजा पछाई भन्छिन्, ‘स्कुलमा यस्ता कुरा पढाइ त हुन्छ तर ‘प्राक्टिकल’  अलि कम हुन्छ। मैले हेर्ने मौका पाएँ र धेरै कुरा सिक्नेछु।’

यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिर्थ वडले आफ्नो विगत सम्झिँदै भने, ‘हाम्रो पालामा यस्तो प्राक्टिकलका सामान त्यति थिएनन्। सूत्रहरू घोक्यो, कण्ठ पार्‍यो। यस्तो देख्न पाएको भए अझै धेरै कन्सेप्ट आउँथ्यो होला।’

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले विज्ञान सामाग्रीले गाउँका विद्यार्थीको शिक्षणमा टेवा पुग्ने बताए।

प्रकाशित: ५ वैशाख २०८१ १९:२७ बुधबार