समाज

सदस्य-सचिव वाग्लेविरुद्ध उसु प्रशिक्षकले किन दिए उजुरी?

उसुका प्रशिक्षकलाई गोलीगलौज गरेको आरोपमा कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव हंसराज वाग्लेविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता भएको छ।

प्रशिक्षकलाई सार्वजनिक स्थानमा अपशब्दलगायत अन्य शब्द र हातको इशार देखाएर गालीगलौज गर्नुका साथै बेइज्जत गरेको भन्दै मंगलबार सदस्य–सचिव वाग्लेविरुद्ध प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता भएको हो।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत जिल्ला खेलकुद विकास समितिका उसु प्रशिक्षक विनोद मारिक (अधिकृत तृतीय प्रशिक्षक) ले आफूलाई सार्वजनिक स्थलमा अश्लील शब्दलगायत अन्य शब्द प्रयोग गरी बेइज्जत हुने गरी व्यवहार गरेकोमा कानुनीबमोजिम कारबाही गरी पाऊँ भनी उजुरी दर्ता गराएका छन्।  

प्रतियोगितामा खेलाडी सहभागिताका विषय सोमबार आफू सदस्य–सचिव वाग्लेकहाँ गएपछि तथानाम भन्दै अपशब्द प्रयोग गरी आफूलाई गोलीगलौज गरेको बताउँदै उसु प्रशिक्षक मारिकले भने, ‘राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगितामा खेलाडी सहभागिताका लागि बुझ्न प्रदेश खेलकुद बोर्डको सम्पर्क कार्यालय इटहरी गएको र त्यहाँ सदस्य–सचिव वाग्लेसँग कुरा बुझ्न खोज्दा मलाई ‘चोर प्रशिक्षक’ देखि अपशब्द प्रयोग गर्दै गालीगलौज गरे। मलाई गालीगलौज गर्न थालेपछि खेलाडीहरु पनि प्रतियोगितामा नखेल्ने भन्दै हिँडेका थिए। खेलाडीहरुलाई मैले सम्झाएर खेल्न आग्रह गरें।’

मोरङले आठवटा स्वर्ण पदक जितेको थियो। जुन खेलको बढी पदक आउँछ त्यही प्रशिक्षक जाने नियम र प्रचलन रहँदै आएको बताउँदै प्रशिक्षक मारिकले भने, ‘सोमबार खेलाडीलाई लिएर इटहरी गएँ। त्यहाँ पुगेर हंस सर टिम कोच को जाँदै छ भनेर प्रश्न गरें। त्यसपछि उहाँले हाम्रै दीपक कार्की र उमा राई जान्छन् भनेपछि नियमअनुसार मोरङले आठवटा मेडल जितेकाले मोरङकै जानुपर्ने हुन्छ। उनीहरु कसरी जान मिल्छ भनेर पुनः प्रश्न गरें। उहाँले नियमसिएम मान्दिनँ। यहाँको सदस्य–सचिव म हुँ। मैले जे चाहे त्यही हुन्छ भन्दै जंगिएर गोलीगलौजमा उत्रनु भयो।’

सदस्य–सचिवले पठाउन लागेका व्यक्ति प्रशिक्षक होइनन्। उनीहरुलाई प्रदेश बोर्डले करारमा राख्न लागेका व्यक्ति हुन्। उनीहरुको नियुक्ति विवादमा आएपछि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रशिक्षक नियुक्तिको सम्बन्धका छानबिन समिति बनाएको र तत्कालका लागि कसैलाई पनि नियुक्ति नदिनका साथै काममा समेत नलगाउन सूचना जारी गरेको छ, तर खेलकुद बोर्डले उक्त छानबिन समितिको सूचनालाई बेवास्ता गर्दै दुईजनालाई काममा लगाएको देखिन्छ।  

प्रशिक्षक मारिकका अनुसार दुईजनाको नियुक्ति विवादमा आएपछि नियुक्ति प्रक्रिया रोकिएको छ। ‘उनीहरु दुवैजना आधिकारिक प्रशिक्षक होइनन्। सदस्य–सचिव वाग्लेले खेलाडीहरुलाई बन्देज गरिदिने धम्कीका साथै पूरै दादागिरी प्रवृत्ति देखाउँदै मलाई गालीगलौज गर्नुभयो’, प्रशिक्षक मारिकले भने।  

नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश र मोरङ जिल्ला समितिले विज्ञप्ति जारी गर्दै सदस्य–सचिव वाग्लेलाई पदमुक्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन्। प्रशिक्षक विनोद मारिकलाई गालीगलौज तथा अभद्र व्यवहार गरेकोमा संघको गम्भीर ध्यानाकर्ष भएको र छानबिन गरी वाग्लेलाई कानुनी कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ।

संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक वसन्त अर्याल र मोरङका सचिव डिल्लीराम डाँगीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सोमबार इटहरीबाट काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जान लागेका खेलाडी बिदाइका क्रममा सदस्य–सचिव वाग्लेले प्रशिक्षक मारिकमाथि गरिएको व्यवहार अस्वाभाविक, अमर्यादित रहेको बताइएको छ।

प्रशिक्षक मारिकलाई अभद्र व्यवहार एवं मुख छाडी गालीगलौज गरेको, कर्मचारीलाई मानमर्दन गर्दै नोकरचाकरजस्तो व्यवहार गर्ने, आफ्नो अधिकार क्षेत्र बाहिर गएर हुकुमी शैलमा तानाशाही तवरले जिल्लामा हुन लागेका विभिन्न खेलका अधिवेशन पत्र पठाएर रोक्न लगाउने, खेल सामग्री खरिद तथा खेलाडी सेवासुविधामा आर्थिक अनियमितता गर्ने गरेको गुनासो बारम्बार उठिरहेको हुँदा वाग्लेलाई तत्काल पदमुक्त गरी छानबिन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ५ वैशाख २०८१ १०:०५ बुधबार

हंसराज वाग्ले कोशी खेलकुद विकास बोर्डका सदस्य–सचिव गोलीगलौज अपशब्द