समाज

महिला र ह्वेलमा रजोनिवृत्ति किन?

यस्ताे पनि!<br>

पृथ्वीमा पाइने ६ हजारभन्दा बढी स्तनधारीमध्ये ६ प्रजातिमा मात्र रजनोवृत्ति हुन्छ। रजोनिवृत्ति हुने स्तनधारीले त्यसपछि सन्तान जन्माउन सक्तैनन्। यस वर्गमा मानव र ह्वेल पर्छन्। यतिबेला वैज्ञानिकहरू ह्वेल माछाका अन्य चार प्रजातिमा हुने रजोनिवृत्तिमाथि अध्ययन गर्दैछन् ताकि महिलाहरूमा हुने रजोनिवृत्तिको खास कारण बुझ्न सकियोस्।

वैज्ञानिकहरूले चार ह्वेल प्रजातिका ३२ माछाहरूको जीवनचक्र अध्ययन गरे। त्यस अध्ययनमा उनीहरूले के पाए भने पाँच ह्वेल प्रजातिहरू रजोनिवृत्तिबाट गुज्रन्छन्। किलर ह्वेल, फल्स किलर ह्वेल, बेलुगा ह्वेल, नारवाल्स र पाइलट ह्वेल अन्य ह्वेल प्रजातिभन्दा चालीस वर्ष बढी बाँच्छन्।

रोचक के छ भने स्पर्म ह्वेल र बालिन ह्वेलमा रजोनिवृत्ति हुँदैन। यस अध्ययनका प्रमुख बेलायतको एक्स्टर विश्वविद्यालयमा प्राणी व्यवहारका प्राध्यापक स्याम एलिस भन्छन्, ‘रजोनिवृत्ति हुने ह्वेल र नहुने ह्वेलको जीवन फरक देखिन्छ। उनीहरूको प्रजनन चक्र अरूभन्दा फरक हुन्छ। प्रजननपछिको जीवन पनि बेग्लाबेग्लै देखिन्छ।

अध्ययनले हजुरआमा भइसकेकी ह्वेलले आफ्ना नातिनातिनाको खान्कीका लागि लामो समयसम्म सहारा र सुरक्षा दिइरहन्छे। वृद्धा ह्वेलहरूले माछा पक्डन्छन् र तिनलाई आधा बनाएर अन्य सदस्यहरूलाई बाँड्छन्। यस्तो व्यवहार भने युवा पोथी ह्वेलमा देखिदैन। झन् भालेले त यस्ता कुरामा कहिल्यै पनि चासो दिएको देखिएन। रजोनिवृत्ति मानिस र ह्वेल माछामा बेग्लाबेग्लै समयमा विकसित भएको मानिन्छ। यी दुवैका साझा पूर्वज नौ करोड वर्ष पहिले छुट्टिएका थिए।

जीवन विकासका हिसाबले हेर्ने हो भने प्रजनन चक्र बन्द भएपछिको जीवन बुझ्नु निकै गाह्रो छ। अधिकांश प्रजातिहरूमा पोथीको जीवनको अन्त्यसम्म प्रजनन गुण रहिरहन्छ। यसको मूल कारण, आफ्नो जीन आउँदो पिँढीमा सार्नु हो। तर मानिस र दाँतयुक्त ह्वेल माछामा भने रजोनिवृत्तिको विकास जीवनको अवधि बढेसँगै भएको हो। प्रजननको अवधि बढेन तर आयु भने बढ्यो। जसका कारण रजोनिवृत्तिपछि पनि यी प्राणीहरू बाँचिरहे।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ वैशाख २०८१ ०६:०९ मंगलबार

जीवन विकासका हिसाब महिला र ह्वेलमा रजोनिवृत्ति