समाज

सर्लाहीमा जसपाका पूर्व सासंदमाथि आक्रमण, तीनजना प्रहरीकाे नियन्त्रणमा

सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका पूर्व सासंद प्रमोद साहमाथि आक्रमण गरी कुटपिट भएको छ। पूर्व सासंद साहमाथि आक्रमण गरी कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।  

आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। आइतबार राति ११ बजेको समयमा मकै बालीमा सिँचाइ गरेर घर फर्कने क्रममा साहका कामदार राजेन्द्र महतो र रवि पासवानमाथि आक्रमण भएको थियो।

कामदारमाथि आक्रमणको खबर पाएलगत्तै घटनास्थल पुगेका पूर्व सासद साहमाथि पनि आक्रमण भएको प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए।

आक्रमणमा सासदसँगै कामदार महतो, पासवान र निकेश साह गरी चारजना घाइते भएका छन्। आक्रमणबाट घाइते भएका साहको स्थानीय अमृत हेल्थकेयरमा प्रारम्भिक उपचारपश्चात् काठमाडौं लगिएको सर्लाही प्रहरीको भनाइ छ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुमाथि ज्यान मार्ने उद्योग मुद्दा चलाउन पूर्व सासद साहले जाहेरीसमेत दिएको बुझिएको छ।

प्रकाशित: ३ वैशाख २०८१ ११:३६ सोमबार

इश्वरपुर नगरपालिका आक्रमण