समाज

जेठमा पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद

फाइल तस्बिर

नेपालले आगामी जेठ दोस्रो साता पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ।

जेठ ९ र १० ( मे २२ र २३) मा काठमाडौंमा आयोजना हुने ‘इन्टरनेसनल डायलग अन माउन्टेन, पिपुल एन्ड क्लाइमेट’ नाम दिइएको यो संवादमा नेपाललगायत विश्वका पर्वतीय मुलुकका प्रतिनिधि, विषयविज्ञ र साझेदार संस्थाका प्रतिनिधि सहभागी हुनेछन्।

संवादको उद्देश्य पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

सम्मेलनमा पर्वतीय क्षेत्रमा हुने जलवायु परिवर्तनको असर भोगिरहेका बंगलादेश जस्ता तल्लो तटीय राष्ट्रलाई समेत आमन्त्रण गर्ने तयारी छ। जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाउने र प्रभावकारी पैरवी गर्ने चाहना नेपालको छ।

जलवायु परिवर्तनको असरले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक प्रभावबारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ।

गत वर्ष दुवईमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप– २८) ले पहिलोपटक पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई सम्बोधन गर्ने विषयमा निर्णय लिएको थियो।

सम्मेलनले जलवायु परिवर्तनसम्न्धी सयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) लाई वैज्ञानिक तथा प्राविधिक परामर्श दिने सहायक निकाय (एसबिएसटिए) को ६०औं बैठकमा पर्वत र जलवायु परिवर्तन विषयमा विज्ञ छलफल गर्न निर्देशन दिएको थियो।

निर्देशनअनुसार आगामी जुनमा जर्मनीको बोनमा हुन लागेको बैठकअघि नेपालले यो मुद्दामा अन्तर्राष्ट्रिय संवाद गर्न लागेको हो।

प्रकाशित: ३ वैशाख २०८१ ०७:०४ सोमबार

पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद इन्टरनेसनल डायलग अन माउन्टेन पिपुल एन्ड क्लाइमेट विषयविज्ञ वन तथा वातावरण मन्त्रालय