समाज

पहाडी जिल्लामा उक्लियो कालाजार, उन्मुलनमा चुनौती

हरेक वर्ष २ सयमा कालाजार सङ्क्रमित

तराइको रोग भने चिनिने कालाजार पछिल्लो समय पहाडी नयाँ जिल्लाहरूमा फैलिने क्रम जारी रहेपछि नियन्त्रण चुनौती बनेको विज्ञहरूले औँल्याएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनमा सहभागी विज्ञहरूले यस्तो जानकारी दिएका हुन। नेपाल स्वास्थ्य अनुसन्धानको आयोजनामा राजधानीमा तीन दिने जनसङ्ख्या तथा स्वास्थ्य वैज्ञानिक सम्मेलन हालै सम्पन्न भएको छ।

नेपालमा कोभिड, एचआइभी र मलेरियाविरुद्ध लड्न बलियो स्वास्थ्य प्रणालीको क्रममा प्रस्तुति दिँदै डाक्टर आनन्द वल्लभ जोशीले कालाजार चुनौती बनेको बताए।

उनले उच्च तापमान भएका पहाडी जिल्लाहरूमा समेत कालाजार देखा परेको बताए। गत वर्ष त्रिपुरा र काइते गाउँका ३ जना र ५ जनामा कालाजार देखा परेको जोशीले जानकारी दिए।

उच्च पहाडी नयाँ जिल्लाहरूमा देखिने क्रम नघट्नुले चुनौती थपिएको उनले बताएका हुन।

के हो कालाजार ?

कालाजार फैलाउन भुसुना ‘स्याण्ड फ्लाइ’ नामक भुसुनाले ‘लेसिमेनियाँ डोनोभानी’ परजीवी मानिसको शरीरभित्र प्रवेश गरेमा कालाजार लाग्छ। यो परजीवी सङ्क्रमित भएको भुसुनाले मानिसलाई टोकेपछि कालाजार हुन्छ। यो शरीरमा प्रवेश गरेपछि शरीरभित्र जटिल असर गरेपछि मात्रा लक्षण देखिन्छ।

ज्वरो आउने, औषधी खाएपछि पनि ज्वरो नियन्त्रण नहुने, पेटमा अप्ठेरो हुने, रगतमा हेमोग्लोविनको कमी हुने, खाना मन नलाग्ने र छालाको रङमा कमी हुँदै जाने जस्ता लक्षण देखिन्छ।

यी र यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य चौकी या अस्पतालमा पुगेर उपचार गर्न सकिन्छ। यो रोग एक डोज औषधीमै निको हुने डा. दाहालले बताए।

तर उपचारमा ढिला भएमा मानिसको मृत्यु समेत हुन सक्छ। राष्ट्रिय इपिडोमालोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार कालाजार सङ्क्रमण नयाँ ठाउँमा देखिनुले नेपाल सरकारले सन् २०२६ मा उन्मुलन गर्ने लक्ष्य लिएको कालाजार पहाडी जिल्लामा फैलिनुले चुनौती बनेको हो।

गत आर्थिक वर्षमा डोल्पा र कालिकोटमा धेरैको सङ्ख्यामा कालाजार सङ्क्रमित देखिएको छ। शाखाको तथ्यांकअनुसार सन् २०२३ मा ४७ जिल्ला र १ सय ३ वटा पालिकामा १ सय २२ जनामा कालाजार सङ्क्रमण भएको छ।

पछिल्लो वर्ष देखिएका सङ्क्रमित जिल्लाहरूमा कालिकोट, डोल्पा, ओखलढुङ्गा, बैतडी, बाजुरा हुन।

औसतमा हरेक वर्ष २ सय जनामा कालाजार भइरहेको छ। पुराना जिल्लाहरूमा कालाजार नियन्त्रणको स्थितिमा रहे पनि नयाँ फैलिने र फैलिएका पहाडी जिल्लाहरू नै मुख्य चुनौती बनेको डा. दाहालले बताए। ‘जलवायु परिवर्तनको कारण पहाडी जिल्लामा यो कालाजारको भुसुना जीवित हुन सम्भव भएको हो’ उनले भने।

यसको साथै यातायातको सुविधाको कारण भुसुना गाडीसँगै पहाड पुग्नु, पहाडी तापक्रम तराइको जत्तिकै हुनुको कारणले तापक्रम बढेको डा. दाहाल बताउँछन्।

नेपाल सरकारले कालाजार नियन्त्रणका लागि निःशुल्क झुल र उपचार, औषधीको व्यवस्था गरेको छ।

गाईबस्तुको गोठसँगै या नजिकै सुतेमा यो भुसुनाले टोक्ने र यही टोकाइको कारण कालाजार सङ्क्रमण हुन्छ। यो बाट बच्नको लागि झुलको प्रयोग गर्ने, गोठको नजिक नसुत्ने, ज्वरो आएर निको नभएमा नजिकको स्वास्थ्य चौकीमा जाने, गाउँमा यस अघि कालाजार थियो भने समयमै उपचार गर्ने गरेमा कालाजारको सङ्क्रमणबाट बच्न सकिने उनले बताए।

प्रकाशित: २ वैशाख २०८१ १७:३६ आइतबार