आदिवासी थारू जातिले सुख शान्तिको कामना गर्दै सिरुवा पर्व मनाएका छन्। नयाँ वर्षको पहिलो दिन सिरुवा अर्थात् पहिलो पर्व मनाउने चलन छ।
सिरुवा पर्व थारू समुदायको महत्वपूर्ण चाड हो। यसलाई जुरशीतल पनि भनिन्छ। सिरुवा पर्व थारूसँगै राजवंशी, ताजपुरिया, गनगाई, माझी, मेचे, उराव, किसान, धिमाल लगायतका समुदायले मनाउने गर्छन्।
घरमा कुल देवताको पुजापाठ गरी मान्यजनबाट आशीर्वाद लिएर सिरुवा पर्व मनाउने गरिएको इटहरीकै निसान प्रकृति थारूले बताए। धुमधामसाथ पानी छ्यापेर यो पर्व मनाउने गरिन्छ।
पानी सिरुवाका अवसरमा अघिल्लो वर्षको दुःख र कष्ट पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने प्रचलन छ। सिरुवा मनाएको रात जडीबुटी ल्याएर घरको चारैतिर पूजापाठ गर्ने प्रचलनसमेत रहेको इटहरीकै अगुवा तेजनारायण चौधरीले बताए।
नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै ठूलाबाट सानाले आशीर्वाद लिने चलन पनि छ। बिहानैदेखि अग्रजले आआफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठन्डा रहुन्’ भनेर आशिष दिने गरिन्छ।
यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पुजा हो। चुलोको लिपपोत गरेर पूजा गरिन्छ। त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन। दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा छ। वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ।
सिरुवा पर्वको अवसरमा पूर्वीतराईमा थारू समुदाय नजिक रहेको धार्मिक स्थलमा मेला लाग्ने गर्छ। सिरुवा पर्वको अवसरमा पूर्वका जिल्ला सुनसरी, मोरङ र झापाका विभिन्न स्थानमा नयाँ वर्षको सुरुवातदेखि वैशाखभरि विभिन्न स्थानमा मेला लाग्ने गर्छ।
यसै क्रममा पहिलो दिन मोरङको सुनवर्षीमा लाग्ने मेलासँगै सुनवर्षीमा पुजा गर्नेको भीड लाग्ने गरेको छ।
प्रकाशित: २ वैशाख २०८१ ०७:४६ आइतबार