समाज

शान्तिपूर्ण कार्यक्रमका लागि माइतीघर खुला, दबाबपछि हट्यो निषेधाज्ञा

फाइल तस्बिर

नागरिक समाज र राजनीतिक वृत्तबाट चर्को दबाब बढ्दै गएपछि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय कार्यालय काठमाडौंले पाँच महिनापछि उक्त क्षेत्रको निषेधाज्ञा हटाएको हो। निषेधाज्ञा हटेसँगै आज (आइतबार) बाट उक्त क्षेत्रमा नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना मागसहित प्रदर्शन गर्न पाउने छन्।

गएको मंसिरमा नेकपा एमालेको युवा संघ र राजावादी आन्दोलन गरिरहेको दुर्गा प्रसाईं समूहले एकै समय मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सम्भावित सुरक्षा चुनौतीलाई हेरेर काठमाडौं प्रशासनले निषेधाज्ञा लगाएको थियो। त्यसपछि राजधानीको सार्वजनिक यातायात र सार्वजनिक शान्ति सव्यवस्थाको कारण देखाउँदै प्रशासनले निषेधाज्ञा थप्दै लगेको थियो।

पछिल्लोपटक फागुन ४ गते निषेधाज्ञालाई निरन्तरता दिँदै दुई महिनासम्म निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन तथा सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको थियो।

तर, काठमाडौं प्रशासनको उक्त कदमप्रति नागरिक समाज र राजनीतिक वृत्तमा व्यापक आलोचना भइरहेको थियो। नागरिकले आफ्ना कुरा राख्न वर्षौदेखि प्रयोग गर्दै आएको माइतीघरमा निषेधाज्ञा लगाएर राज्यले नागरिकका आवाज थुन्ने कोशिस गरेको भन्दै व्यापक विरोध पनि भइरहेको थियो।

यस्तोमा थप दबाब झेल्न सक्ने स्थिति नभएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निषेधाज्ञा हटाउन काठमाडौं प्रशासनलाई निर्देशन दिएको स्रोत बताउँछ। गृहमन्त्रीको  निर्देशनपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा हटाइएको हो।

प्रकाशित: १ वैशाख २०८१ १४:०४ शनिबार

राजनीतिक वृत्त नागरिक समाज काठमाडौंको माइतीघर मण्डला बानेश्वर निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय कार्यालय काठमाडौं