समाज

छिन्नमस्ता गाउँपालिकाले तिरिदिने भाे किसानको विद्युत् महसुल

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइमा खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ। कृषि उत्पादन बढाउन कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेतखेतमा गाउँपालिकाले सिँचाइ सुविधा पुर्‍याउने निर्णय गरेको हो।

४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन्, तर सिँचाइको विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेतीमा सिँचाइ गर्दै आएका थिए। यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो।

कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याइएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।

गत असारमा सम्पन्न १०औँ गाउँसभा बैठकबाट किसानले खेती सिँचाइ गर्दा उठेको महसुलको पचास प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय भएको अध्यक्ष चौधरीले बताए।

‘यो निर्णयबाट किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ’, अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतीप्रति किसानको आकर्षण बढ्ने छ।’

प्रकाशित: २९ चैत्र २०८० ११:४९ बिहीबार

छिन्नमस्ता गाउँपालिका विद्युत् महसुल सिँचाइ कृषि विद्युतीकरण कार्यक्रम