समाज

खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरले महानगरका विभिन्न खालि भित्ताहरूमा चित्रकलाले भर्न सुरु गरेको छ।

महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ। परम्परागत  भेषमा सजिएका नेवार पुरुष र महिला लगायतका चित्रहरू कोरिएको छ।

यस्ता चित्रहरू महानगरको रङ्गशाला, एयरपोर्ट, शंकरदेव, राष्ट्रिय सभागृह, भृकुटीमण्डप लगायतका स्थानहरूको भित्तामा यस्ता चित्र कोर्ने योजना रहेको चित्र कोर्दै गरेका चित्रकार विक्रम वनले बताए। यो चित्रकला कार्यक्रमको लागि महानगरले ५० लाख बजेटको कार्य सम्झौता गरेको अर्का चित्रकार डिभी भण्डारीले बताए। उनीहरूको अनुसार महानगरले चित्रकलाको लागि फाइनआटसंग सम्झौता गरेको हो।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरभित्र सांस्कृतिक तथा धार्मिक पक्षका चित्रहरू कोर्ने निर्णय भएको हो। जस अनुसार ठाउँ अनुसार मठमन्दिरमा देवी देउताको चित्र र पार्कैतिर फुल तथा सम्पदाको चित्र कोरिने बताए। यस्ता चित्रले  ट्राफिकमा कुनै असर नगर्ने दाबी गरे।

‘यस्ता चित्रकलाले ट्राफिकलाई कुनै असर गर्ने देखिँदैन’ प्रवक्ता मानन्धरले भने। उनको अनुसार यस्ता महानगरले सहरको सौन्दर्य र सांस्कृतिक पहिचान झल्काउने उद्देश्य लिएको बताए।

प्रकाशित: २८ चैत्र २०८० १४:३२ बुधबार

चित्रकला काठमाडौं महानगर