समाज

५० वर्षमा रुबिक क्युब

यस्ताे पनि!

रुबिक क्युबले पजलप्रेमीहरूलाई लोभ्याउन थालेको ५० वर्ष पुगेको छ। सन् १९७४ मा हंगेरीका विज्ञान विषयका प्राध्यापक एर्नो रुबिक (७९ वर्षे) ले आफ्ना विद्यार्थीहरूलाई व्यस्त बनाउन काठको क्युब निर्माण गरेका थिए तर कालान्तरमा यो यति लोकप्रिय भयो कि अहिलेसम्म १० लाखभन्दा बढी रुबिक क्युब बिक्री भइसकेको छ।

एर्नो रुबिकले विद्यार्थीहरूलाई मूर्तिकला र भवन निर्माण कला सिकाउँथे। उनले शुरुमा यो बनाउँदा रमाइलोका लागि बनाएका थिए। पछि उनले विद्यार्थीलाई व्यस्त बनाउन प्रयोग गरी हेरे। धेरैका लागि यो रमाइलो, केहीका लागि गर्व र धेरैजसोका लागि तनावको क्युब रहँदै आएको छ। धेरै कमले पनि कम समयमा यसलाई पूर्ण रूपमा समाधान गर्न सक्छन्। कसैले भने घण्टौँ लगाएर समाधान गर्छन्। यो क्युब मन पराउनेका लागि यो कला हो, यो खेल पनि हो, कतिका लागि विज्ञान हो भने कतिका लागि यो गणित पनि हो।

अचेल त यो समाधान गर्ने अनेक खेल बजारमा उपलब्ध छ। केहीले आँखामा पट्टी बाँधेरसमेत रुबिक्स क्युब समाधान गर्ने प्रयास गर्छन् ताकि रमाइलो थपियोस्। रमाइलो थप्दाथप्दै अचेल यो सिनेमा, टेलिभिजनदेखि कमिकसम्म ठाउँ पाउन थालेको छ।

पछिल्लो समय यसलाई समाधान गर्नेहरूको संख्या बढ्दै जाँदा ३.१३ सेकेन्डभित्र कसले समाधान गर्न सक्छ भन्ने प्रतिस्पर्धा नै चल्ने गरेको छ। आधिकारिक रूपमा यसको व्यापार सात करोड ५३ लाख डलर बराबरको हुने गर्छ। यो क्युबको व्यापार हरेक वर्ष चार प्रतिशतले बढ्ने गरेको छ। हरेक वर्ष नयाँ जिज्ञासुको संख्या बढ्दै गएकाले यसको व्यापार पनि बढेको स्पिन मास्टर्स नामक कम्पनीले जनाएको छ।

अभिभावक र शिक्षकहरूसमेत यो क्युबप्रति आफ्ना सन्तान तथा विद्यार्थी आकर्षित होऊन् भन्ने चाहन्छन्। सिकाइमा कठिनाइ भएका बालबालिकाहरूका लागि सिक्ने यो उत्तम माध्यम रहेको केही विज्ञ बताउँछन्।

अहिले त स्पिन मास्टर्स कम्पनीले यस्तो क्युब निकालेको छ, शुरुमा यो कालो रङको हुन्छ। यसलाई चलाउँदै जाँदा हातको तापक्रमको सहयोगले कालो रङ अन्य रङमा परिवर्तन हुन थाल्छ। ५० वर्षसम्म सामान्य क्युबले सर्वसाधारणलाई आकर्षित गर्न सफल रह्यो तर अर्को ५० वर्षसम्म क्युबले आफूलाई सान्दर्भिक बनाइरहन यस्तो नयाँ शैली अपनाउनुपर्ने आवश्यकता रहेको कम्पनीको दाबी छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २७ चैत्र २०८० ०६:४८ मंगलबार

यस्ताे पनि! ५० वर्षमा रुबिक क्युब हंगेरीका विज्ञान विषयका प्राध्यापक एर्नो रुबिक