समाज

डढेलोले वन सखाप, कसले गर्ने नियन्त्रण ?

उदयपुरको उत्तरी जङ्गलमा सल्केको डढेलो।

दुई महिनायता उदयपुरको वन क्षेत्र डढेलोले सखाप पार्दै छ। गत माघको अन्तिम सातादेखि सुरु भएको डढेलोले जिल्लाका सामुदायिक वन नष्ट गरिरहेको भएतापनि सम्बन्धित निकायबाट डढेलो नियन्त्रणको प्रभावकारी कदम चालिएको छैन।

डढेलो नियन्त्रणबारे न सरकारी पक्षको चासो देखिन्छ नत सामुदायिक वन उपभोक्ता समूहको नै। पहिलो लटमा लागेको डढेलोले धेरैतिरको जङ्गलमा क्षति गरिसकेको थियो। माघ अन्तिमदेखि फाट्टफुट्ट देखिन थालेको डढेलो सुरुमै निभाउन कसैले चासो नदेखाएका कारण फागुन दोस्रो सातासम्म आइपुग्दा दर्जन बढी वन समूहमा सयौँ हेक्टर जङ्गल नष्ट भइसकेको थियो।

हावाहुरी पनि चल्न थालेकाले रातारात लप्का फैलिँदा डढेलो नियन्त्रण बाहिर पुग्यो। सरकारी बेवास्ता र उपभोक्ता समूहहरूको चासो नहुनाले झाँगिँदै गएको डढेलो निरन्तर ३ दिनसम्म भएको वर्षाले नियन्त्रणमा आयो।

तर, वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मी र प्रचण्ड घामको तापले फेरि डढेलो सल्कँदा जङ्गल पहिलाको जस्तै भइसकेको छ। डिभिजन वन कार्यालय गाईघाट मातहत मात्र पछिल्लो समय ८ वटा सामुदायिक वन समूहको जङ्गल डढेलोले क्षति पुर्‍याईसकेको छ।

डिभिजन वन कार्यालय गाईघाटका निमित्त प्रमुख (डिएफओ) रामभगत यादवका अनुसार सदरमुकाम त्रियुगा र छिमेकी चौदण्डीगढी नगरपालिकाका विभिन्न वन समूहमा लागेको डढेलो ५ दिनयता नियन्त्रणबाहिर छ।

यादवका अनुसार सदरमुकाम गाईघाट आसपासकै बाबरी, नवउदय, बहेडवा, सरस्वती र राजदेवी सामुदायिक वन समूहमा डढेलो फैलिएको छ। गत १८ गतेदेखि फैलिएको डढेलोले त्रियुगा-११ को नवउदय वन समूहमा १५ हेक्टर जङ्गल डढेलोले खाइसकेको छ। त्यस्तै त्रियुगा-१० को बोक्सेस्थित बाबरी वन समूहको २० हेक्टर जङ्गल नष्ट भइसक्दा त्रियुगा-५ दमौलीस्थित सरस्वती वन समूहको २५ हेक्टर जङ्गलमा क्षति पुगेको छ।

निमित्त डिएफओ यादवका अनुसार त्रिनपा-६ जलजलेस्थित राजदेवी सामुदायिक वन समूहमा १२ हेक्टर र त्रियुगा-१६ को बेलदोभानस्थित सरस्वती सामुदायिक वन समूहको सबैभन्दा बढी ३० हेक्टर वन क्षेत्रमा डढेलोले नोक्सान पुर्‍याएको छ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका-६ को आँपखहरेको १० हेक्टर, चौदण्डीगढी-९ को देवीस्थानमा १० हेक्टर, त्रिनपा-१३ बहेडवाको १५ हेक्टर जङ्गलमा डढेलोले क्षति गरेको निमित्त डिभिजनल वन अधिकृत रामभगत यादवले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म वन कार्यालय मातहतका ८ वटा समूहको १ सय ३७ हेक्टर क्षेत्रफलको जङ्गलमा डढेलो फैलिसकेकाे छ। ०८० चैत १८ गतेदेखि सुरु भएको डढेलो २५ गतेसम्म लगातार चल्दा यत्तिको क्षति भएको यादवले सुनाए।

यो समाचार तयार पार्दासम्म पनि डढेलो नियन्त्रणबाहिरै रहेकाे छ। ‘अहिले पनि डढेलो जारी छ, हामी वन कर्मचारी तथा समूहका उपभोक्ता नियन्त्रणको प्रयासमा छौँ’ निमित्त डिएफओ यादवले भन्छन् ‘तर, हावाहुरी र चर्को घामका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन। जोखिम पनि उत्तिकै भएकाले होसियारीपूर्वक नियन्त्रणको प्रयासमा छौँ।’

उता पश्चिमतर्फ डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) तर्फ पनि थुप्रै वन समूह र राष्ट्रिय वन क्षेत्रमा डढेलो लागिरहेको स्थानीयले बताएका छन्। १ सय ५२ सामुदायिक वन उपभोक्ता समूह समेटिएको डिभिजन वन त्रिवेणीको जङ्गल क्षेत्रमा पनि फागुनमा लागेको डढेलो वर्षाले नियन्त्रणमा आएको थियो। तर, वर्षा हुन छाडेदेखि पुनः सुरु भएको डढेलोले के कति क्षति पुगेको भन्ने तथ्याङ्क भने प्राप्त हुन सकेको छैन।

डढेलोको अवस्थाबारे बुझ्न डिभिजनल वन अधिकृत अनिरुद्रप्रसाद साहसँग पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। सहायक वन अधिकृत भोगेन्द्र मण्डलले विभिन्न ठाउँमा डढेलो लाग्न सुरु भएको बताए पनि यकिन तथ्याङ्क आफूसँग नभएको भन्दै डढेलोसम्बन्धी हेर्ने जिम्मा पाएका सहायक वन अधिकृत हिरालाल शर्मासँग सम्पर्क गर्न सुझाए। तर, शर्मासँग पनि सम्पर्क हुन सकेन। 

डढेलोले वर्षेनी वन जङ्गल नष्ट गर्ने गरे पनि यसको दीर्घकालीन निदानबारे भने सरोकारवाला व्यक्ति र निकायको उत्ति चासो गएको पाइँदैन। डढेलो आफै उत्पन्न नभई व्यक्तिले नै आगो लगाउने गरेको वास्तविकता ‘ओपन सेक्रेट’ भए पनि सम्बन्धित निकायले कारबाही नगर्ने गरेका कारण वर्षेनी डढेलो जाने गरेको वन कर्मचारीकै स्वीकारोक्ति छ।

गाईबाख्रा चराउन नजिकको जङ्गलमा पिप्रा (पाउलो) घाँस उमार्न स्थानीयले नै वनमा आगो लगाउने गरेको तर, त्यो प्रमाण अभावमा कसैलाई कारबाही गर्न नसकिएको डिभिजन वन कार्यालयले जनाउने गरेको छ।

‘धेरैले भन्छन् आगो सल्काउने स्थानीयले नै हो भनेर, तर प्रमाण दिँदैनन्’ यादवले भने ‘हामीसँग प्रमाण नभएपछि को माथि कारबाही गर्नु ? अर्को कुरा उजुरी कसैबाट आउँदैन। त्यसैले वर्षेनी डढेलोको घटना हुने गरे पनि कसैमाथि कारबाही गर्न सकिएको छैन।’

आक्कल झुक्कलबाहेक डढेलो लाग्नुको मुख्य कारण स्थानीयबाटै आगो सल्काउने हुनाले पनि नियन्त्रण र नियमनको समस्या भएको वन कर्मचारीहरू बताउँछन्।

प्रकाशित: २६ चैत्र २०८० १८:३५ सोमबार