समाज

जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या, २ जना पक्राउ

जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ।

सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-४ स्थित विश्वकर्मा चोकमा अन्दाजी २० वर्षीय  प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालेका अनुसार विश्वकर्मा चोकमा तीन/चार जनाको एक समूहबिच झगडा हुँदा महोत्तरीकाे एकडारा गाउँपालिका घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो। उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको डिएसपी अवाले बताए।

छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए। सोही अवस्थामा प्रहरीले उनलाई उद्धार गरि प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जनकपुरको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेकाे अर्जुन साहलाई अनुसन्धानको लागि पक्राउ गरिएको हाे।

प्रकाशित: २६ चैत्र २०८० १६:०० सोमबार

छुरा प्रहार