समाज

गृहमन्त्री जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बन्नुपर्छ : भण्डारी

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन रूपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यताअनुरूप सहकारी प्रकरणमा संसदीय समिति बन्नुपर्ने बताएका हुन्।

गृहमन्त्री वा उनको दलप्रति कांग्रेसको कुनै पूर्वाग्रह नहरेको भन्दै उनले संसदीय मूल्य मान्यता अनुरूप नै संसदीय छानबिनको माग गरिएको बताए।

‘सरकारमा रहेका मन्त्रीमाथि प्रश्न उठेपछि प्रजातान्त्रिक व्यवस्थामा संंसदीय छानबिन गरी प्रष्ट पार्नुपर्छ, विगतको नजिरलाई पनि हेरौं। संसद्ले प्रश्न उठाएपछि कांग्रेसका मन्त्री रामशरण महतले राजीनामा दिनुभएको थियो,’ भण्डारीले भने।

विगतमा अरूमाथि औंला उठाउनेले आफूमाथि प्रश्न उठ्दा छानबिनका लागि तयार हुनुपर्ने भन्दै उनले गृहमन्त्री लामिछानेलाई अलिकति भए पनि नैतिकता देखाउन आग्रह गरे। उनले मुलुकको अवस्था कमजोर बन्दै गएकाले सांसद संख्या घटाउने बेला आएको बताए।

‘मुलकलाई चाहिनेभन्दा धेरै जनप्रतिनिधि, कर्मचारी भए, राजस्वबाट उठेको पैसाले तिनैलाइ तलब खुवाउन पुगिरहेको छैन, विकास कहाँबाट हुन्छ ?’, उनले भने। उनले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाइ ५० हजारमा झार्नुपर्ने बताए। स्थानीय तहलाइ नचलाई प्रदेश र केन्द्रको आकार घटाउनुपर्ने उनको तर्क छ।

निर्वाचन प्रणालीमा सुधारको खाँचो औंल्याउँदै उनले समानुपातिक प्रणालीमा विज्ञलाई मात्रै लैजाने व्यवस्था गरिनुपर्ने बताए। भण्डारीले विगतमा केपी शर्मा आलीले संसद् विघटन गर्दा निर्वाचनमा जान चुकेर कांग्रेसले गल्ती गरेको त्यसकै परिणाम अहिलेको अवस्था आएको पनि बताए।

प्रकाशित: २६ चैत्र २०८० ०७:२३ सोमबार

सहकारी प्रकरणमा छानबिन समिति गठन चन्द्र भण्डारी नेपाली कांग्रेसका नेता नेपाल प्रेस युनियन रूपन्देही