समाज

‘मजदुर बनेर युएई गएका प्रकाश बने मालिक’

२२ वर्ष अगाडी ऋण खोजेर पैसा कमाउने सपना बोकेर म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका प्रकाश कार्की रोजगारीका लागि खाडी मुलुक युएई गए। पढ्दापढ्दै १८ वर्षको उमेरमा ‘लेवर’ भिसामा दुबई पुगेका कार्कीले एउटै कम्पनीमा १५ वर्ष बिताए।

कस्मेटिक उत्पादनहरू बनाउने कम्पनीमा काम गरेका कार्कीले करिब डेढ दशक निकै मेहनत गरे। कम्पनीमा उत्पादन र बजारसम्म बिक्रीका लागि दैनिक १६ घण्टासम्म काम गरेका कार्की अहिले युएईको औद्योगिक क्षेत्रमा रहेका उजोबा, निसा र ब्युटी क्लिनिक गरी तीनवटा ब्रान्डबाट ३ सय बढी सौन्दर्य सम्बन्धी सामग्री उत्पादन गर्छन्।

ट्रेन्सफर ब्युटी एण्ड प्रशनल केयर रिकोसटीङ म्यानुफ्याकचर कम्पनीका कार्यकारी प्रमुख समेत रहेका कार्कीको युएई र इराकमा रहेको कम्पनीबाट उत्पादन हुने वस्तु विश्वका २३ देशमा पसल छ भने ७० भन्दा बढी देशमा बिक्री हुन्छ।

सन् २०१९ मा कम्पनी स्थापना गरेका कार्कीले विश्वभर कोरोना सङ्क्रमणको महामारीमा आफ्नो कम्पनीमा उत्पादन हुने सेनिटाइजर सहितका सामाग्री युएई सरकारलाई बिक्री गरे।

उनले कोरोना रोकथाममा खेलेको भूमिकाको उच्च प्रशंसा गदै युएई सरकारबाट प्रशंसा पत्र समेत पाएका थिए। कोरोनाको समयमा उनका कर्मचारीले दिन रात मेहनत गरे। कोरोनाकालमा उनको उद्योग धैरै उचाइमा पुग्यो।

कार्कीले छोटो समयमै विश्व बजारमा आफ्ना उत्पादन पुर्‍याउन सफल भए। सकारात्मक सोच, इच्छाशक्ति र सफलताको सपनालाई साकार बनाउँदै २२ वर्ष अघि आफूले काम गरेको कम्पनीलाई नै प्रतिस्पर्धी बनाएर मालिक बन्न सफल भएका कार्की अहिले युएईमा रहेका म्याग्देली र नेपाली व्यवसायीकै पनि ‘आइडल’ बनेका छन्। 

उनले कानुनी झन्झटको सामना समेत गरेको बताए। कानुनी लडाइँमा जितेका कार्कीले काम गर्दै जाँदा चिनजान र धेरैसँग घुलमिल हुन पाएका कारण अहिलेको सफलता प्राप्त भएको उनको भनाइ छ।

‘मजदुरी गर्दा सिकेको सीपले कम्पनी खोले, लेवर काम गर्ने कम्पनीको म्यानेजर नै अहिले मेरो कम्पनीमा काम गर्छन्’ उद्योगपति कार्कीले भने। उनले अहिले आफ्नै कमाइको कुल ९८ अर्ब र बाँकी कर्जा लिएर उद्योग सञ्चालन गरेका छन् भने थप नयाँ उद्योगको समेत तयारीमा जुटेकाे उनले सुनाए। कार्की अबको ५ वर्षमा विश्वका धेरै मुलुकमा आफ्ना उत्पादित वस्तुहरू पुग्ने बताउँछन्।

उनले दैनिक जीवनमा आवश्यक पर्ने सरसफाई र सौन्दर्य सामग्रीको माग पुरा गर्न समेत हम्मेहम्मे भएको बताए। करिब ३ सय नेपाली र विदेशीलाई रोजगारी दिएका कार्कीले कम्पनीमा कार्यरत सबै कर्मचारीलाई एकै किसिमको सम्मान गर्छन्।

श्रीमती, १ छोरा र १ छोरीसँगै युएईमै बस्ने कार्कीले कार्य व्यस्तताका कारण देश, विदेश गरिरहनुपर्दा परिवारलाई समय दिन नसकेको बताउँछन्। सपनालाई गरिबीले छेक्दैन भन्नेहरूका लागि उदाहरण बनेका कार्की मोना युएईका निर्वतमान अध्यक्ष समेत हुन्।

उनले मोना, एनआरएनए लगायत नेपाली सङ्घसंस्थालाई आर्थिक सहयोग समेत गर्ने गरेका छन्। उनलाई युएईमा रहेका म्याग्देलीले प्रेरक व्यक्तिका रूपमा पनि लिने गरेको मोना युएईका अध्यक्ष सुवास राम्जालीले बताए।

‘उहाँको संघर्ष र सफलताको कथा उत्प्रेरक छ, मेहेनत, लगाव, इच्छाशक्ति र श्रमलाई निरन्तरता दिएपछि सफलता प्राप्त गरेको उदाहरण बन्नुभएको छ’ अध्यक्ष राम्जालीले भने। 

पछिल्लो समय दुबईमा नेपाली रेस्टुरेन्टका साथै ट्राभल्स कपडा, मिठाई पसल, सुनचाँदी पसल खोल्ने क्रम बढेपनि कार्की म्याग्दीबाट उद्योग स्थापना गरी रोजगारी दिने पहिलो म्याग्देली हुन्। कार्कीको नेपालमा जलविद्युत, पर्यटन लगायत विभिन्न क्षेत्रमा समेत लगानी रहेको छ।

प्रकाशित: २५ चैत्र २०८० १४:१५ आइतबार

म्याग्दी रघुगंगा गाउँपालिका–२ भगवती प्रकाश कार्की मालिक