समाज

गुठी परम्परा धान्न कनिका छरेझैं हण्डी!

चालु आर्थिक वर्षमा हण्डी बाँड्न ५२ लाख

काठमाडौं लगायत विभिन्न सहरमा सहाराविहीन अवस्थामा पुगेका र गाँस–बास–कपास जुटाउन कुनै आयस्रोत नभएकाको जीवन अत्यन्त जटिल छ। महँगीको मारले सहरका गरिबहरूको जीवन पलपल कष्टकर बन्दै गइरहेको छ। सहरका कंगालहरूमाथि राज्य कहिल्यै अभिभावक बन्न सकेको देखिन्न। तर पनि गुठी र देवालयहरूमा दाताले खडा गरेको कोषबाट मासिक ८०० रूपैयाँका दरले कंगालहरूलाई हण्डी बाँड्ने गरिएको छ।

आम्दानीको कुनै स्रोत नभएकाहरूका लागि मासिक रूपमा बाँडिने उक्त रकम निकै थोरै हो। त्यसले उनीहरूलाई महिनाभरिको भोजन जुटाउन अपर्याप्त छ। हण्डीबापतको यति थोरै रकमबाट उनीहरू कसरी बाँच्छन् भन्नेमा राज्यका कुनै निकायले चासो र चिन्ता प्रकट गरेको देखिन्न। गुठी संस्थानले हण्डी पाउनेवाललाई कंगाल शब्द प्रयोग गर्ने गरेको छ।

देवालय र गुठीको देवस्वबाट प्राप्त भएको रकमलाई दाताको इच्छाअनुरूप कंगालका लागि खर्च गर्ने उद्देश्यले कोष खडा भयो। उक्त कोषमा जम्मा भएको रकम दाताकै इच्छा र अभीष्ट पूरा गर्न र परम्परा धान्न कंगाललाई गुठी संस्थानले चार दशकयता हण्डीका रूपमा बाँड्दै आएको हो।

आवास नभएका, सहाराविहीन बनेकाहरूका साथै कुनै आयस्रोत र सम्पत्ति नभएकालाई संस्थानले हण्डी बाँड्दै आएको हो। अहिले हण्डी कंगालहरूको जीवन सहज बनाउनभन्दा पनि दाताले जुन उद्देश्यले कोष खडा गरिएको थियो, त्यो अभिष्ट पूरा गर्न मात्र बाँड्ने गरिएको छ।

गुठी संस्थानले वर्षौंदेखि निवेदन लिएर वर्षमा चार पटक हण्डी बाँड्ने गरेको छ। साउनको संक्रान्ति, दसैं, माघे संक्रान्ति र वैशाख संक्रान्तिलाई लक्ष्य गरेर पर्व सुरु हुनुअगावै कंगालका हातमा संस्थानले हण्डी पु¥याउने गर्दै आएको छ।

पहिले संस्थानले कंगालहरूलाई हण्डीका रूपमा एक दिनका लागि चाहिने १०० ग्राम चामलसँगै तेल, तरकारी, दाल, बेसार माटाको हाँडीमा राखेर दिन्थ्यो। २०५० सालपछि उनीहरूलाई नगदै बाँड्न थालियो। नगद पाएपछि भने व्यक्तिले एक छाक भए पनि आफूले इच्छाएको भोजन गर्न पाएको संस्थानका अधिकारीहरूको दाबी छ।

गुठी संस्थान काठमाडौं शाखा कार्यालयका अनुसार काठमाडौंमा मात्रै ४०० जनाले यो सुविधा लिइरहेका छन्। गुठी संस्थानका साथै उपत्यकाबाहिरका शाखाबाट पनि सयौं व्यक्तिले यो सुविधा लिइरहेका छन्।

यो सुविधा लिन पनि सहज भने छैन। हण्डी पाउने व्यक्तिको निश्चित दरबन्दी तोकिएको छ। निवेदन दिए पनि वर्षौं पालो कुर्नुपर्छ। कोटामा परेका व्यक्ति मृत्यु भएपछि मात्रै निवेदन दिई पालो पर्खिरहेकाले बल्ल मौका पाउँछन्। हण्डीको कोटाका व्यक्ति स्वयं नै उपस्थित भएर औंठा छाप लगाउनुपर्छ।

काठमाडौं कार्यालयमा यसरी वर्षाैंदेखि पालो पर्खिने नै १०० जना रहेको गुठी संस्थान काठमाडौं शाखा कार्यालयका प्रमुख वैकुण्ठप्रसाद रेग्मीले बताए। हण्डीको सूचीमा चढेपछि उक्त व्यक्तिले आजीवन यस्तो सुविधा पाउँछ। केन्द्र र जिल्लास्थित कार्यालयले हण्डी खानेहरूको सूची तयार गर्छ।

गुठी संस्थान काठमाडौं कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २३ लाख २५ हजार १५९ रूपैयाँ हण्डी रकम गरिब र असहायलाई वितरण गरेको जनाएको छ। आव २०८०/८१ मा भने हण्डी बाँड्न ३८ लाख ३० हजार ४०० रूपैयाँ बजेट विनियोजन गरेको छ।

गुठी संस्थान केन्द्रीय कार्यालयले यस्ता व्यक्तिलाई बाँड्न आव २०८०/८१ मा ५२ लाख २२ हजार ४०० रूपैयाँ बजेट छुट्याएको छ। गत वर्षमा भने देशभर जम्मा २७ लाख २१ हजार ४१० रूपैयाँ हण्डीका रूपमा वितरण गरिएको थियो।

‘दाताको इच्छा र अभीष्ट पूरा गर्न मात्रै संस्थानले हण्डी बाँड्ने गरिहेको हो। उनीहरूको जीवन नै बचाउने उद्देश्यले संस्थानले लगानी गरेको होइन, यति रकम कंगालहरूको व्यक्तिको जीवन बचाउन पर्याप्त पनि हुँदैन’, बचाउन राज्यले नै अभिभावकत्व लिनुपर्दछ,’ गुठी संस्थान काठमाडौंका सहायक प्रशासक राजेन्द्र दाहालले भने। यसरी बाढेको थोरै रकमले उनीहरूको जिवनयापनमा केही सहयोग गरेको त होला भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

यस्ता व्यक्तिको गाँस–बास–कपासको व्यवस्था गर्ने र बाँच्न पाउने अधिकार संरक्षण गर्नु राज्यको दायित्व हो। तर गुठी संस्थानले दाताको वाचा पूरा गर्ने नाममा यसरी लाखौं रूपैयाँ वार्षिक हण्डीका रूपमा बाँडिरहे पनि त्यसबाट कुनै नतिजा देखिएको छैन।

‘कनिका झरेझैं लाखौं रकम छरे पनि उनीहरूको जीवनमा खासै योगदान भएको छैन,’ गुठी संस्थान काठमाडौं कार्यालयका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले भने। ‘रिजल्ट केही नदेखिएपछि पनि परम्परा धानिरहेका छौं। दाताले सञ्चित गरेको कोषको रकम अरू प्रयोजनका लागि खर्च गर्न पनि मिल्दैन,’ उनले भने ।

प्रकाशित: २५ चैत्र २०८० ०६:३९ आइतबार

गुठी परम्परा कनिका छरेझैं हण्डी