समाज

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

दिवंगत प्रहरी जवान मुनटुन यादव। तस्बिर : नागरिक

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको हो।

काठमाडौंबाट काँकरभिट्टाका लागि हिंडेको बागमती प्रदेश ०१–००६ ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताएका छन्।

अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बोगटीले बताए।

रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले बसलाई चेकजाँचका लागि रोक्न खोज्दा बसले ठक्कर दिएको बोगटीले बताए।

उनका अनुसार प्रहरी जवानलाई ठक्कर दिएको बस नियन्त्रणमा लिइएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ। मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरनिवासी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०८० १२:३२ शनिबार

मुनटुन यादव ट्राफिक प्रहरी जवान बसको ठक्कर जितपुर सिमरा उपमहानगरपालिका राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय पथलैया