समाज

सुनसरीमा हतियार देखाएर लुटपाट, प्रहरीले थाल्यो अनुसन्धान

अज्ञात समूहले हतियार देखाएर सुनसरीको इनरुवा वडा नं-९ बबियाबाट बुधबार दिउँसो मोटरसाइकलमा सवार एक युवाको पैसा लुटपाट गरेका छन्।

चाइना स्कुलनजिकै हरिनगर वडा नं-१ का हासिप अनसारीको पाँच लाख ३५ हजार रुपैयाँ लुटिएको खबर प्रहरीलाई आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए। उनका अनुसार पैसा लुटिएको खबर आएपछि अनुसन्धान गर्न प्रहरी टोली खटाइएको छ।

‘बुधबार २.४५ बजेतिर पैसा लुटिएको प्रहरीलाई खबर आएपछि प्रहरीले अनुसन्धान गरि रहेको छ,’ उनले भने, ‘पैसा लुटिएको भनिएका व्यक्तिसँग प्रहरीको भेट भइसकेको छैन।’

डिएसपी भण्डारीका अनुसार हासिफले भने जसरी घटना भएको वा अरु नै ढंगले घटना भएको भन्ने सम्बन्धमा अनुसन्धान पूरा भएपछि मात्र यकिन हुनेछ।

‘अहिले हल्ला भएको घटनाबारे विशेष टोलीले अनुसन्धान गरि रहेको छ, भोलिसम्म सबै प्रस्ट हुनेछ,’ बुधबार साँझ डिएसपी भण्डारीले भने।

प्रकाशित: २१ चैत्र २०८० १९:५३ बुधबार