समाज

घरपरिवार चलाउनै वैदेशिक रोजगारीको वाध्यता

तराईका जिल्लाको अग्रता

घरपरिवार चलाउनै पनि वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता नेपाली युवामा रहेको छ। त्यही वाध्यतामा तानिएका धनुषालगायत तराईंका युवा वैदेशिक रोजगारीमा अग्रमोर्चामा रहेका छन्। त्यसमा पनि धनुषाका युवा सबैभन्दा अगाडि छन्।

वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा २३ हजार ४ सय ८९ जना धनुषाका युवाले श्रम स्वीकृति लिएर विदेसिएका छन्। वैदेशिक रोजगारीमा जाने संख्या वर्षेनि बढे पनि अन्य जिल्लाले धनुषालाई उछिन्न सकेका छैनन्।

‘बिदेसिनेमा सबैभन्दा बढी धनुषाका छन्,’ विभागका सूचना अधिकारी कविराज उप्रेतीले भने, ‘त्यहाँका युवा बिदेसिने क्रममा सबै भन्दा बढी मलेसिया तथा खाडी मुलक गएका छन्।’

तराईको जनसंख्या पनि बढी छ। त्यही भएर पहिलेदेखि नै वैदेशिक रोजगारीमा त्यहाँका बासिन्दा जाने गरेका छन्। नजिकका व्यक्ति विदेसिएको देखेर पनि धेरै त्यता जाने गरेका हुन्। अरुको कमाइ र देखासिकीले पनि विदेसिन प्रेरित गरेको हो।

‘धेरै कामदार विदेश जाने जिल्लामा सबै तराईका छन्,’ उनले भने, ‘पहाडी र हिमाली क्षेत्रबाट कम जानुको पछाडी जनसंख्या पनि हो,’ उप्रैतीले भने, ‘धेरै कामदार विदेश जाने जिल्लामा जनसंख्या बृद्धिदर पनि उच्च रहेको छ।’ 

धनुषामा विदेशमा पैसा कमाइन्छ भन्ने सामाजिक धारणा बलियो रहेको छ। घर छाडेर बाहिर काम गर्ने बानी, विदेश जाने भनेपछि साहुबाट सजिलै ऋण पाइने अवस्थाले पनि प्रेरकको काम गरेको छ। 

तराई क्षेत्रमा साहुले काम गर्न बिदेसिनेलाई सजिलै ऋण दिन्छन्। खाडी र मलेसियामा ठूलो लगानी गर्नु नपर्ने र प्रक्रिया सुरु गरेपछि जान पाइने प्रायः निश्चित भएकाले धेरै यी क्षेत्रमा गएका हुन्। मध्ये तथा सुदूरपश्चिमका युवा भने भारतका विभिन्न सहरमा काम गर्न जाने गर्छन्। तराई भेगका युवा मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र कुवेत आदि मुलुकमा जाने गरेका छन्।

धनुषापछि झापा, सिराहा, महोत्तरी, मोरङ, सप्तरी, नवलपरासी, सुनसरी, सर्लाही र रूपन्देही जिल्लाबाट रोजगारीका लागि बिदेशिएका छन्।

सूचनाको अभाव, सीपको कमी र लिन अरुचि, सामाजिक लागत वृद्धि, एजेन्ट तथा म्यानपावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ। तराई क्षेत्रका युवा वैदेशिक रोजगारीका लागि स्थानीय एजेन्टको भर पर्छन् । यसका साथै अधिकांश ऋण लिएर विदेश जाने गरेका छन्। अधिकांश व्यक्तिगत सम्पर्कका आधारमा वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ।

विदेश जानेको संख्या बृद्धि भएसँगै बिदेसिएका युवाले अकालमै ज्यान गुमाउनु परेको पीडा पनि उस्तै छ। मेडिकल परीक्षणका विभिन्न चरण पार गरेर विदेश जाने युवाहरूको विदेशमा किन मृत्यु भइरहेको छ भन्नेमा धेरै अध्ययन भएको छैन। वैदेशिक रोजगारीमा जाने र त्यहाँ मृत्यु हुने नेपालीको औषत संख्या लामो समयदेखि घट्न सकेको छैन। 

औद्योगिक दुर्घटना, आत्महत्या, सडक दुर्घटना आदिका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेको विवरण आउने गरे पनि यो के कारणले हुन्छ भन्ने अध्ययन अझै गरिएको छैन। रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या बढेसँगै गन्तव्य मुलुकमा मृत्यु, अंगभंग हुनेको संख्या पनि बढेको देखिन्छ।

विदेशबाट कमाएको पैसाले स्वदेशमा घर बनाउने, बिहेबारी गर्ने र आर्थिक रुपमा सशक्त हुने र फेरि जीवन धान्न दो¥याएर विदेश जानेहरूको संख्या मधेश प्रदेशमा अत्याधिक रहेको श्रम तथा आप्रवासन बिज्ञ गणेश गुरुङले बताए।

‘मधेश प्रदेशका युवा किन विदेसिन्छन् भन्ने कुनै अध्ययन नभए पनि हिमालबाट पहाड र पहाडबाट तराई झर्ने कारणले पनि हो,’ उनले भने, ‘सामान्य दृष्ट्रिकोणबाट हेर्दा रेमिट्यान्स भित्र्याउने मधेशकै जिल्लाहरू हुन्। त्यहाँ बालबच्चालाई पढाउनदेखि लिएर छोरीको बिहे गर्न लगभग पुरै सम्पत्ती सकिए झैँ हुन्छ। तराईवासीले छोरालाई पढाउन र छोरीलाई बिहे गर्न जग्गा बेचेरै सम्पत्ती सक्छन्।’ तराईमा जलबायुको ठुलो असर रहेको काराणले नै उनीहरू विदेसिन बाध्ये हुने गरेको गुरुङले बताए।

उनका अनुसार घरपरिवार छाडेर बिदेसिन बाध्य भएका अधिकांशको घर परिवारमा मनोसामाजिक समस्या, बालबालिका विद्यालय नजाने समस्या, घरमा झैं–झगडा, ऋणको कारण घरबारविहीन हुनुपर्नेलगायतका सामाजिक र मानसिक कठिनाइ प्रमुख कारण हुन्।  

‘मधेशमा अधिकांश युवा मजदुरको काम गर्न मलेसिया र खाडी मुलुक जान्छन्। प्रायः अशिक्षित युवा हुन्छन्। उनीहरूले न त राम्रो सिप सिकेका हुन्छन् नत उनीहरूलाई कामका बारेमा जानकारी हुन्छ। यस्तो अवस्थामा दलालबाट ठगीको सिकार हुने र पछि ऋणको भारले घरपरिवारनै बर्बाद हुने गरेको छ,’ उनले भने।

श्रम मामिलाकी जानकार सरु जोशीका अनुसार तराई क्षेत्रमा वर्षेनी बाढीपहिरो र जलवायुको असरले पनि वैदेशिक रोजगारीमा जाने युवाको क्रम बढ्दो रहेको छ। ‘मधेशमा खेतीयोग्य जमिन धेरै छ। तर, त्यसलाई जलवायुले ठुलो नोक्सान पु¥याइरहेको छ,’ उनले भनिन्, ‘समयमा पानी नपर्ने। यदि पानी परेको खण्डमा पनि बालीनै नास हुने गरेर बाढी आउने। जलवायुले गर्दा खेतीयोग्य जमिनमा लगाएको बालीनाली समयमा उठाउँन समेत नपाउँने कारणले पनि हैरान भएर त्यहाँका युवा बिदेसिएका हुन्।’

त्यस्तै धनुषाबाट साउनमा २ हजार ६ सय ३० जना, भदौमा २ हजार ५ सय ६३, असोजमा २ हजार ६ सय २९, कात्तिकमा २ हजार ५७ जना, मंसिरमा ३ हजार ४ सय ६६ जना, पुसमा ३ हजार ४ सय ४३ जना, माघमा ३ हजार, १ सय ४७ जना र फागुनमा ३ हजार ५ सय ५४ जना श्रम स्वीकृति गरेर गन्तव्य मुलुकमा गएको विभागको तथ्याकंले देखाएको छ।  

प्रकाशित: २० चैत्र २०८० १३:५४ मंगलबार

वैदेशिक रोजगारी