समाज

दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले सोमबार आन्दोलनरत दृष्टिविहीनहरूलाई पक्राउ गरेको  छ। काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित कार्यालयको गेट बाहिरबाट प्रहरीले २ महिला र १० पुरुष दृष्टिविहीनलाई पक्राउ गरेको हो। ती दृष्टिविहीनहरूले आफ्ना माग राखेर प्रदर्शन गरिरहेका थिए।

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिविहीनहरू आन्दोलनमा उत्रेका हुन। उनीहरूले आफूहरूलाई काम गरेर खान नदिएको भन्दै आन्दोलन गरेका हुन्।

सोमवार उनीहरूले काठमाडौँ महानगरपालिकादेखि भृकुटीमण्डपसम्म विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले दृष्टिविहीनको जीविकाको आधार गीत गाउने पेसा भएकाले स्पिकरसहित गाउन पाउनुपर्ने माग राखेका छन्।

दुई साताअघि स्वयम्भूमा गीत गाइरहेका दुई जना दृष्टिविहीनको स्पिकर महानगर प्रहरीले खोसेको थियो।

यसअघि विभिन्न ठाउँबाट स्पिकर खोसे पनि फिर्ता दिने गरेकोमा यसपटक महानगरले फिर्ता नदिएको उनीहरूको गुनासो छ। सरकारले दिने मासिक २ हजार रूपैयाँ भत्ताले दृष्टिविहीनको गुजारा नचल्ने भएकाले कि सरकारले उनीहरूको जीविका चल्ने गरी रोजगारी दिनुपर्‍यो र उचित व्यवस्थापन गर्नुपर्ने अन्यथा गीत गाउन दिनुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित: १९ चैत्र २०८० १२:०८ सोमबार

नेपाल प्रहरी उचित व्यवस्थापन