समाज

खुट्टी खोलाका खुस्बुहरू !

लाहान– १८ शोभापुरकी ३५ वर्षीया खुस्बु खातुन भालेको डाँकोसँगै साबेल लिएर गिटी चाल्न खुट्टी खोला पुग्छिन्। १० वर्षीया छोरी रञ्जना, ४० वर्षीय पति मोहम्मद इस्लाम र खुस्बुको जीवन खुट्टी खोलामै अडिएको छ।

रञ्जनाको पढाइ खर्च र परिवारको गुजारा खुट्टी खोलाले धानिदिएको छ। रञ्जना गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा पढ्छिन्। खुस्बु परिवारको जीविकोपार्जन गिटी चालेर चल्दै आएको छ।

एक दशकदेखि खुस्बुले पतिसहित यसै खोलामा गिटी चालेर गुजारा चलाउँदै आएकी छन्। आर्थिक अवस्था कमजोर भएकैले उनी गुजारा चलाउन गिटी चाल्न बाध्य भएकी हुन्। 

पहिला गाउँघरमै ज्यालामा काम गरी गुजारा चल्थ्यो। छोरी जन्मेपछि खर्च बढ्यो,’ खुस्बुले भनिन्, ‘ज्यालामा काम गर्दा कमाइ कम हुन्थ्यो, खोलामा गिटी–बालुवा चाल्दा त्योभन्दा बढी आम्दानी हुन थालेपछि बुढाबुढी यही खोलामा धाउन थाल्यौं।’

उनका अनुसार ज्यालामा काम गर्दा दिनको ६०० रुपैयाँ कमाइ हुन्थ्यो। त्यसले गुजारा चलाउन हम्मे परेपछि गिटी चाल्न थालेको उनले बताइन्। ‘भरदिनमा एक ट्रिप गिटी चाल्दा १ हजार रुपैयाँ कमाइ हुँदा गुजारामा भरथेग भएको छ,’ खुस्बुले भनिन्, ‘यही कमाइले छोरीको लालनपालन, पढाइलेखाइ पनि चलेको छ, यो खोला नै अहिले हाम्रो सम्पत्ति बनेको छ ।’

खुस्बुजस्तै तटीय क्षेत्र वरिपरिका बानो, झुटकी, गुदिगाउँ, विष्णुपुर, भदैया, बस्तीपुर, शोभापुर, गोविन्दपुरलगायत दर्जनभन्दा बढी गाउँका विपन्न, भूमिहीन दलित परिवारले खुट्टी खोलामा गिटी चालेर जीवन धान्दै आएका छन्।आर्थिक अवस्था कमजोर भएका सयभन्दा बढी दलित विपन्न परिवारको मुख्य आयस्रोत बनेको छ– खुट्टी खोला।  

खोलामा झिसमिसेमै गिटी, बालुवा चाल्नेको मेलाजस्तै लाग्छ। ‘वर्षौंसम्म गिरहत (मालिक) को घरमा मजदुरी गरे पनि छाक टार्न समस्या हुन्थ्यो’, बानोकी राधा सदायले भनिन्, ‘यो खोलाले हाम्रो परिवारलाई भरथेग दिएको छ। चारजनाको परिवार खोलामा गिटी चालेर चलेको छ।’

आफ्नो ६ जनाको परिवार गिटी चालेरै गुजारा चलाएको माइली सदायले सुनाइन्। एक्लैको कमाइले घर चलाउन समस्या परेपछि पतिले पनि गिटी चाल्न थालेको उनले बताइन्। माइलीले एक ट्रिप गिटी एक हजार रुपैयाँमा बिक्री गर्छिन्।

ठेकेदार खोलामै आएर गिटी किनेर लैजाने भएकाले बिक्रीमा समस्या नभएको उनले बताइन्। ‘गिटी बिक्रीमा समस्या छैन, ठेकेदार यहीं आउँछन्,’ उनले भनिन्, ‘हामी सुकुमबासीका लागि बाहिर काम पाइँदैन। धन्न यो खोला छ, जसले हाम्रो जीवन चलिरहेको छ। गिटी न चाले छाक टार्न धौधौ पर्छ । हामी खोलाबाट हुने कमाइको भरमा बाँचेका छौं।

त्यस्तै गिटी चाल्दै आएकी ममता सदायले पनि गिटी चालेरै गुजारा चलाएको बताइन्। ‘अन्नबाली उब्जाउने जग्गा छैन,’ उनले भनिन्, ‘खोला नै जीवनधान्ने सम्पत्ति बनेको छ, यही खोलाबाट कमाइ हुन्छ।’ गिटी चाल्ने यहाँका महिलालाई छोराछोरी र पतिले पनि सघाउँछन्।

‘हरेक वर्ष असोजदेखि जेठ महिनासम्म गिटी चालेर बिक्री गर्छु,’ ममताले भनिन्, ‘खोलामा जति काम गर्न सक्यो, त्यति आम्दानी हुन्छ। दैनिक एक हजारदेखि दुई हजार रुपैयाँसम्म कमाउन सकिन्छ।’ उनका अनुसार खुट्टी खोलामा गिटी चाल्नेहरू पेट पाल्ने धुनमा घामपानी सबै बिर्सन्छन्।

बानोकै दुलारी सदायका पति वैदेशिक रोजगारीमा छन्। दुलारी पनि बिहान घरको काम सकेपछि छोराछोरीलाई विद्यालय पठाएर खोलामा गिटी, बालुवा चाल्न पुग्छिन्।

‘पतिको कमाइ बचत गर्छु, खोलाको कमाइले घरखर्च चलाउँछु,’ उनले भनिन्, ‘खेतीपाती छैन, बसेर खानुभन्दा गिटी चालेर महिनामा १०-१२ हजार रुपैयाँ कमाउँछु।’ आफ्नो कमाइको केही रकम स्थानीय सहकारी संस्थामा बचत गरेकी उनले छोराछोरीको पढाइ खर्च जुटाउन पनि खोलाको कमाइले सहज भएको बताइन्।

नगरपालिकाले वार्षिकरूपमा ठेक्का प्रक्रियामार्फत व्यवसायीलाई बालुवा, गिटी र ढुंगा संकलनका लागि जिम्मा दिने गरेको छ। सिरहाका खुट्टीखोला, बलान, गागन, घुर्मी, कमला नदी क्षेत्रबाट ठेकेदारले पनि गिटी, बालुवा निकालेर निकासी गर्छन्।

गिटी चालेर यस भेगका सुकुमबासी तथा विपन्न परिवारको गुजारा चलेको छ। भूमिहीन सुकुमबासी दलित तथा विपन्न परिवारको रोजगारीको माध्यम नै यी खोलाको गिटी, बालुवा बनेको छ।

पछिल्लो समय खोलाहरूमा ठेकेदारले एक्स्काभेटर प्रयोग गर्न थालेपछि उनीहरू चिन्ति बनेका छन्। ठेकेदारले खोला ठेक्कामा लिँदा यस भेगका विपन्नहरू रोजगारी गुम्ने चिन्तामा छन्।

प्रकाशित: १८ चैत्र २०८० ०७:०५ आइतबार

खुट्टी खोलाका खुस्बुहरू खुस्बु खातुन छोरी रञ्जना मोहम्मद इस्लाम गिटी गुजारा