समाज

पाँच करोडमा निर्माण गरिएको शीतभण्डार उपयोगविहीन

पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीतभण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताए।

‘शीतभण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्रविधिक काम अधुरा छन्।’ शीतभण्डार भित्र राखिने काठ (भुइँमा काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उनको बताए। 

उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरु कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्ययकाे भनाइ छ। विद्युत् नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा पर्खाल कम्पाउण्ड लगायतका काम बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको उनले सुनाए।

अध्यक्ष उपाध्ययका अनुसार उक्त शीतभण्डारमा एक हजार मेट्रिकटनसम्म भण्डारण गर्न सकिन्छ। अहिले पाँच सय मेट्रिकटनबाट सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।

‘शीतभण्डारलाई यही चैत मसान्तभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौँ। सके किसानलाई सञ्चालन गर्न भन्ने हो, सकेनन् भने सहकारीमार्फत वा सूचना निकालेर कुनै संस्थालाई जिम्मेवारी दिनेछौँ।’ उनले भने।

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा  उक्त शीतभण्डार निर्माण गरिएको हाे। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार सञ्चालनका लागि बाँकी प्राविधिक तथा केही पूर्वाधार निर्माण भइरहेको छ।

भुसालका अनुसार निर्माण कम्पनीले शीतभण्डार सम्पन्न गरेर करिब तीन वर्षअघि नै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। तीन वर्षअघि सम्पन्न भएको उक्त शीतभण्डार सञ्चालनमा आउन नसकेपछि स्थानीय किसानलाई समस्या हुँदै गएको छ।

यहाँका केरा उत्पादक र अन्य किसानलाई कृषिजन्य उत्पादन भण्डारणमा चुनौती थपिएको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए। किसानका लागि निर्माण गरिएको शीतभण्डार तत्काल सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०८० १४:४३ शनिबार

शीतभण्डार पश्चिम नवलपरासी