समाज

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

फाइल तस्बिर

झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका-५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बुको मृत्यु भएको हो।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा उनीमाथि आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए।

लिम्बु परिवार केही वर्षदेखि रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए। वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परी ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो।

शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी-११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका थिए।

यस वर्ष हात्ती आक्रमणबाट झापामा सातजनाको मृत्यु भइसकेको छ भने सातजना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताए।

 -रासस

प्रकाशित: १७ चैत्र २०८० १०:१८ शनिबार

हात्ती आक्रमण खड्गमाया लिम्बु कमल गाउँपालिका झापा