समाज

माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय

जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।

मुलकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान मुद्दामा ३ जनालाई साढे ३३ वर्षको कैद र जनही ५० हजार जरिवाना तोकिएको छ।

उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धी ३ वटा मुद्दामा सो फैसला गरिएको अदालतले जनाएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबागका प्रकाश भन्ने ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका अककायदा भन्ने शाकीर अली मुसलमान र सोही पालिका वडा नम्बर २ का रमजान शाह भन्ने कलाम हुसेनलाई सो सजाय तोकिएको हो।

यस्तै मृतक पाण्डेयकी श्रीमति महिमालाई भने मतियारका रुपमा रहेको भन्दै ७ वर्ष कैदको सजाय तोकिएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए।

न्यायधिश प्रकाशचन्द्र अधिकारीको ईजलासले एक साता अघि घटनामा ५ जनालाई कसुरदार ठहर गरेको थियो। सजाय निर्धारण भने बुधवार गरिएको हो। बारदातमा प्रयोग गरिएको पेस्तोल लुकाएको हुँदा कैलाश टोलका पूर्णविर पाल्पालीलाई १ वर्ष ३ महिना कैद र १० हजार जरिवाना तोकिएको छ।

कैद सजाय भुक्तान गरी सकेका पाल्पाली भने १० हजार जरिवाना तिरेर कारागारबाट यसअघि नै रिहा भई सकेका छन्। कर्तव्य ज्यान मुद्दामा ३ जनालाई जन्म कैद (२५) वर्ष, ज्यान मार्ने उद्योगमा ५ वर्ष, हातहतियारमा साढे ३ वर्ष सजाय तोकिएको हो।

पीडित राहत कोषमा ३ जनालाई जनही ३ हजार ४ सय महिमालाई ३ सय र पूर्णविर पाल्पालीलाई ४ सय क्षतिपुर्ति जम्मा गर्न समेत फैसला भएको छ। बारदातमा प्रयोग भएको लु १६ प ३४९७ नंवरको पल्सर मोटरसाईल पेस्तोल र गोली जफत गर्ने फैसला गरिएको छ।

२०७८ जेठ ५ गते राति पाण्डेयलाई गोली प्रहार गरिएको थियो। उनको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको शिक्षण अस्पतालमा मृत्यु भएको थियो। २ बर्ष १० महिना पछि  अदालतले सो मुद्दाको किनारा लगाएको हो।

घटनामा प्रहरीले १२ जनाालई पक्राउ गरी मुद्दा चलाए पनि ७ जनाले भने सफाइर्ए पाएका छन्। सफाई पाउनेहरुमा मोटो भन्ने नसरत अली शेष, प्रबीण गुप्ता, सद्दाम हुसेन खा, सिरिया भन्ने श्रीराम चौधरी, गोलु भन्ने राधेश्याम चौधरी, राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय राम कुमार यादव र सुनिल भन्ने सन्जु शुक्ला रहेका छन । प्रहरीले १२ जनामाथी हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कत्तब्र्य ज्यान र संगठित अपराध मुद्द दर्ता गरेको थियो।

हत्याको कारण महिमा र ओम प्रकाशबीचको अबैध सम्बन्ध  

नेता दिपक पाण्डेको हत्याको मुख्य कारण उनकी श्रीमति र ओम प्रकाश यादवबीच अबैध सम्बन्ध रहेको देखिएको प्रहरीले जनाएको छ।

जनता समाजवादी पार्टीका तत्कालीन प्रदेश स्तरीय विद्यार्थी संगठनका अध्यक्ष समेत रहेका ओम प्रकाश र मृतककी श्रीमति महिमाबीच ५ वर्षदेखि अनैतिक सम्बन्ध रहेको र सोहि कारण घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मृतककी श्रीमति महिमाकै योजना अनुसार ओम प्रकाशले एक लाख सुपारी दिएर पाण्डेयको हत्या गर्न लगाएको प्रहरीले बताएको छ। अबैध सम्बन्धका विषयमा दिपक र महिमाबीच पटक पटक झगडा समेत भएको र दिपकले श्रीमति र ओम प्रकाशलाई पटक पटक अबैध सम्बन्धका कारण धम्की समेत दिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

माओवादी नेता पाण्डेयलाई जेठ ५ गते कपिलवस्तु नगरपालिकाको चाउचाउ फैक्ट्रि नजिक  गोली प्रहार गरेर हत्या गरिएको थियो। गोली लागि घाईते भएका पाण्डेयको उपचारको क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित: १५ चैत्र २०८० १७:४४ बिहीबार

जिल्ला अदालत कपिलवस्तु नेकपा माओवादी केन्द्र दीपक पाण्डेय श्रीमतिसहित ४ जनालाई कैद सजाय