समाज

विमानस्थलको पार्किङ शुल्क बढाउन कम्पनीको दबाब

नेपालगन्ज विमानस्थलमा रहेको पार्किङ क्षेत्र। तस्बिर: नागरिक

नेपालगन्ज विमानस्थलको पार्किङ ठेक्का लिएको कम्पनीले यहाँका तीन पांग्रे सवारी साधनमा लगाउँदै आएको शुल्क वृद्धि गर्न दबाब दिएको छ। सरकारले आफूमाथि बर्सेनि कर बढाउने भएकाले सोहीअनुसार तीन पांग्रे सवारी साधनबाट शुल्क बढाउन थालेको सार्थक ट्रेड सेन्टर एन्ड सप्लायर्सले बताएको छ।

यसअघि प्रति ई–रिक्साबाट मासिक दुई हजार रूपैयाँ उक्त कम्पनीले पार्किङ शुल्क उठाउँदै आएको थियो। यो महिनादेखि प्रतिरिक्सा दुई सयका दरले पार्किङ शुल्क थप गरेर दुई हजार दुई सय रूपैयाँ पुर्‍याउने सार्थक ट्रेड सेन्टर एन्ड सप्लायर्सले जनाएको छ।

पछिल्लो समय भएको व्यापार गिरावटले गर्दा कम्पनीले तोकेअनुसारको पार्किङ शुल्क तिर्न नसक्ने यहाँका ई–रिक्सा चालकहरूले जनाएका छन्। अहिले आम्दानी घटिरहेका बेला पार्किङ शुल्क बढाएर तिर्न नसकिने अटो चालक रमेश यादवले बताए।

१६ वटा ई–रिक्सा विमानस्थलको पार्किङका लागि कम्पनीसँग दर्ता भएका छन्। उनीहरूले मासिक ३२ हजार रूपैयाँ पार्किङ शुल्क तिर्छन्।

पेट्रोलवाला रिक्सा पनि १६ वटा छन्। उनीहरूले एकमुस्ट मासिक ५० हजार रूपैयाँ तिर्दै आएका छन्। यो निर्णय अटोहरूमा मात्र लागु हुने पार्किङ जिम्मा लिएको कम्पनीले जनाएको छ। कि अटोहरूको संख्या थप्न दिनुपर्ने, नत्र भने पार्किङ शुल्क बढाउनुपर्ने उक्त कम्पनीले बताएको छ। पार्किङ जिम्मा लिएको सार्थक ट्रेड सेन्टर एन्ड सप्लायर्स र अटो चालकबिच ३२ वटा अटोबाहेक अरू पार्किङ गर्न नमिल्ने गरी सम्झौता भएको छ।

प्रकाशित: १५ चैत्र २०८० ०९:५६ बिहीबार

नेपालगन्ज विमानस्थल शुल्क वृद्धि गर्न दबाब