समाज

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

कर्णाली किनारमा अवस्थित कैलालीको चिसापानी बजार होलीको माहौलमा झुमेको थियो। चैत १२ गते दिउँसोको चार बजे कर्णाली पुलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। स्थानीय मात्रै हैन पुल हेर्न अन्यत्रबाट समेत मानिसहरु आएका थिए।

कोही पुलमा फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए। यहीबेला युवाहरुको समूह पुलमा पुग्यो। उनीहरुले पालैपालो नदीमा हाम फाले। कसैले लुगा खोलेर हाम फाले भने कसैले लुगा लगाएरै हाम फाले।

एकपछि अर्को गर्दै १७ जनाले पुलमाथिबाट नदीमा हाम फालेको दृश्य पुल हेर्न पुगेका मध्ये कतिपयले भिडियो खिच्न भ्याए। अहिले यस्तै भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल बनेका छन्।

हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ लागे। तर, १६ औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन्। उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए।

नदी किनारमा रहेको डुङ्गा समयमा पुग्न सकेन। उनीसँगै हाम फालेकाहरुले समेत बचाउने प्रयास गरेनन्। उनीहरु प्नि पौडिएर किनार लाग्ने तर्फ नै केन्द्रित भए।

शाहीको अवस्था अझै अज्ञात छ। उनको पुर्ख्यौली घर दैलेख जिल्लाको आठबिसकोट नगरपालिका तोलिपाटा हो। उनी चिसापानीमा तरकारी पसल सञ्चालन गरेर बस्दै आएका थिए । उनकी श्रीमती र एक तीन वर्षकी छोरी छन्।

उनी परिवारसँगै होली मनाईरहेका थिए। साथीहरुले होली खेल्न बोलाए। उनी घरपरिवारलाई छोडेर साथीहरुको समूहमा मिसिए। उनको समूहमा करिव २५ जना थिए। तीमध्ये कतिपयले मदिरा सेवन गरेका थिए। शाहीले भने मदिरा सेवन नगरेको स्थानीयको भनाइ छ। उनीहरुका अनुसार शाही मदिरा सेवन गर्दैन थिए।

यो घटनाले कर्णाली पुलको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ। २०४९ सालमा निर्मित यो पुल एउटै पिल्लरमा उभिएको छ। उसले सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बर्दिया जिल्लाको भू-भागलाई जोडेको छ। पुल निकै आकर्षक छ। पुल हेर्नकै लागि थुप्रै मान्छेहरु चिसापानी पुग्ने गर्छन्। मान्छेको चहलपहल बढेसँगै चिसापानी पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ।

यो पुल सडक डिभिजन कार्यालय बाँकेको मातहतमा रहेको छ। उसले नै पुलको रेखदेख र संरक्षण गर्ने गरेको छ। पुल निर्माणको सुरुवाती चरणमा सुरक्षाका लागि १२ जना सुरक्षागार्ड राखिएको थियो। तर अहिले बजेट अभाव भन्दै सुरक्षागार्डको संख्या दुईजनामा सिमित पारिएको छ।

सडक डिभिजन कार्यालय बाँकेका प्रमुख निरज शाक्यले सुरक्षागार्डका लागि आवश्यक बजेट नै नभएको बताए। उनले बजेट अभावका कारण सुरक्षागार्डको संख्या घटाईएको जानकारी दिए।

दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।

पुलको झण्डै सय मिटर टाढा इलाका प्रहरी कार्यालय छ। प्रहरीले समेत पुलमा हुने गतिविधिको निगरानी गर्न सक्छ। तैपनि पुलबाट हाम फाल्ने कार्य भने बेलाबेलामा भैराख्छ। कसैले आत्महत्या गर्न त कसैले रमाईलोका लागि पुलबाट हामफाल्ने गरेको पाईन्छ। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पछिल्लो घटना रमाईलो गर्ने उद्देश्यले गरेको जस्तो देखिएको बताए।

‘तर यस्तो कार्यलाई रमाईलो भन्न त सकिदैन’ उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको दृश्य हेर्दा यस्तो भन्न सकिन्छ।’

उनले प्रहरीले रोक्न खोज्दा पनि युवाहरुले नटेरेकाले दुर्घटना भएको बताए। उनका अनुसार युवाहरुको समूह पुल तर्फ जाँदै गर्दा प्रहरीले रोक्न खोजेको थियो। युवाहरु मादकपदार्थ सेवन गरेकाले प्रहरीले रोक्न खोजेको थियो। युवाहरुले पैदल समेत हिड्न नदिने भन्दै प्रहरीसँग विवाद गरेका थिए।

‘उनीहरुले हिड्न समेत नदिने भनेपछि प्रहरीले थप रोक्ने प्रयास गरेन’ उनले भने, ‘प्रहरीलाई नटेरेको देखिन्छ।’

स्थानीय युवाहरुले बेलाबखतमा पुलबाट हाम फालेर पौडिने गरेको लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहेका स्थानीय लव शाहीले बताए। उनले कतिपयले आत्महत्या गर्ने उद्देश्यले समेत हाम फाल्ने गरेको बताए। उनकाअनुसार अहिलेसम्म ४/५ जनाले पुलबाट हाम फालेर आत्महत्या गरिसकेका छन्। कतिलाई स्थानीयले बचाएका पनि छन्।  ‘युवाहरु हाम फालेर नुहाउने गर्छन्’ उनले भने, ‘तर यस्ता कार्य रोकिनु पर्छ।’

पुलको पश्चिमतर्फ कैलाली र पूर्वतर्फ बर्दिया जिल्लाको भू-भाग पर्छ। दुई जिल्लाको भुभागसँग जोडिएकाले पुलको सुरक्षाको कुरा पनिदुवै जिल्लाको मातहतमा रहन्छ। बर्दियातर्फ राष्टिय निकुञ्ज छ। जहाँ मान्छेको चहलपहल हुँदैन। कैलालीतर्फ बाटै मान्छेको ओहोरदोहोर बढि हुने गर्छ। जसका कारण पुलको सुरक्षालगायतका विषयमा समेत कैलालीलाई जोड्ने गरिन्छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले दुवै जिल्लाको संयुक्त बैठक राखेर सुरक्षाका उपायबारे छलफल गरिने बताए। उनले पुलबाट हाम फाल्न नमिल्ने गरी सुरक्षाको प्रबन्ध गरिने जानकारी दिए। 

प्रकाशित: १३ चैत्र २०८० ०९:४० मंगलबार

कर्णाली कर्णाली किनार कैलाली चिसापानी बजार होली कर्णाली पुल