समाज

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते छन्।

जनकपुरधाम–ढल्केबर सडक-खण्डको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा सोमबार राती भएको दुर्घटनामा मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने मोटरसाइकल चालक करिब २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षीय सरोजकुमार महतोलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र २–००२–००१ च ०७१२ नम्बरको पवित्रि हेल्थ केयर विष्णुपुर सिरहाको एम्बुलेन्सले ज ११ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०८० २२:४१ सोमबार