समाज

होली पर्वलाई ध्यानमा राखी काठमाडौँमा ३ हजार सुरक्षाकर्मी खटाइयो

होली पर्वलाई ध्यानमा राखी जिल्ला प्रहरी परिसर काठमाडौँले तीन हजार सुरक्षाकर्मी खटाएको छ।

होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो।

होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

यस वर्षको होली पर्वका लागि दुई हजार पाँच सय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए।

मापसे र लापसे सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको भन्दै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

प्रकाशित: ११ चैत्र २०८० ०७:०३ आइतबार

होली पर्व जिल्ला प्रहरी परिसर काठमाडौँ तीन हजार सुरक्षाकर्मी सुरक्षाकर्मी