समाज

स्थायी बासको खोजीमा वादी समुदाय

जोखिममा रहेको दैलेख बजारस्थित बादी समुदायको नमुना बस्ती। तस्बिर : नागरिक

२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदाय स्थायी र सुरक्षित बासको खोजीमा भौंतारिँदै आएका छन्। अहिले बसेको ठाउँ भिरालो र पहिरो आइरहने भएकाले जोखिम बढिरहेको भन्दै उनीहरूले सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका हुन्।

बर्सेनि बर्खामा पहिरोले बस्ती झन्झन् जोखिम हुने गरेको भन्दै बादी समुदायको अगुवा पौवा बादीले समयमै आफ्नो बस्तीको व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेकी हुन्। बस्तीमा आएको पहिरोले विगतमा ३ जनाले ज्यान गुमाइसकेका छन्। दर्जन बढी घरसमेत पुरिएका छन्। बाँकी रहेका घर जोखिममा भएकाले सुरक्षित स्थानमा बसाइ सार्न सरकारसँग बादी समुदायले माग गरेका छन्।

स्थानीय कमला बादीले आफूहरूको बस्ती सार्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग आग्रह गरेकी छन्। यहाँका बादी समुदाय दैलेख सदरमुकाममा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन्।

सरकारले भूमिहीन परिवारलाई जग्गा दिन भूमिसम्बन्धी समस्या समाधान आयोग बनाए पनि दैलेखमा बादी समुदायबारे चासो नदेखाएको आरोप उनीहरूले लगाएका छन्।

नमुना बस्तीका बादी समुदायमा शिक्षा, स्वास्थ्य खानेपानीलगायत समस्या उस्तै छ। बस्तीमा स्थापना भएको विद्यालय पनि पहिरोको जोखिम र शिक्षक दरबन्दी नहुँदा बन्द छ। बस्तीमा विगतमा ६५ घर बढी घरधुरी रहेको छ।

प्रकाशित: १० चैत्र २०८० १२:२३ शनिबार

बादी समुदाय स्थायी र सुरक्षित बास अस्थायी बसोबास दैलेख सदरमुकामस्थित गणेश चोक