समाज

ऐतिहासिक बैरिया मेला सुरु

नेपाल-अंग्रेज युद्धलाई हराएको सन् १८१५ देखि हरेक वर्ष लाग्दै आएको बैरिया मेला शुक्रबारदेखि सुरु भएको छ।

नेपाल-अंग्रेज युद्धका क्रममा सन् १८१४ को डिसेम्बर ३१ को रातमा स्थानीयले अंग्रेज फौजमाथि आक्रमण गरी हराएको सम्झनामा सुरु भएको मेला चार दिनसम्म लाग्ने छ।

रौतहटको गढीमाई नगरपालिकाको ऐतिहासिक समनपुर बजारमा युद्ध भएको थियो। सोही बजारमा हरेक वर्ष फागुन पूर्णिमाका अवसरमा मेला लाग्दै आएको छ।

मेलाको उद्घाटन संघीय सांसद देवीप्रसाद तिमल्सिना र नगर प्रमुख श्यामप्रसाद यादवले संयुक्त रुपमा गरेका छन्। उद्घाटन गर्दै सांसद तिमल्सिनाले बैरिया मेलाले ऐतिहासिकता जोगाएको बताएका छन्।

यसैगरी नगर प्रमुख यादवले पुर्खाले नेपालको इतिहासमा दिएको योगदानको सम्मान गर्न सयौं वर्षदेखि मेला लाग्दै आएको र वर्तमानमा पुर्खाको योगदानको कदर गर्नु कर्तव्य भएको बताएका छन्। ‘बैरिया मेलाले ऐतिहासिकता बोकेको छ र होलीको सामान घरघरमा पुर्‍याउन पनि मद्दत गरेको छ’, नगर प्रमुख यादवले भने।

समनपुरको इतिहास उजागर गर्न नेपाली सेनाले दिइरहेको योगदानको पनि नगर प्रमुख यादवले प्रशंसा गरेका छन्। नेपाली सेनाले समनपुरमा युद्ध स्मारक निर्माण गरेको छ। उद्घाटन सत्रमा स्थानीय कलाकारका साथै नेपाली सेनाको टोलीले देशभक्तिसम्बन्धी विभिन्न प्रस्तुति दिएका छन्।

प्रकाशित: १० चैत्र २०८० ०७:५० शनिबार

बैरिया मेला नेपाल–अंग्रेज युद्ध सन् १८१४ को डिसेम्बर ३१ अंग्रेज फौजमाथि आक्रमण