समाज

मृत्युको भविष्यवाणी गर्ने एआई

यस्ताे पनि!

अब आर्टिफिसियल इन्टेलिजेन्सले मान्छेको मृत्युको भविष्यवाणी गर्ने भएको छ। डेनमार्कका वैज्ञानिकहरूले करोडौँ मानिसको डेटा भेला पारिरहेको छ। तिनको अध्ययनपछि त्यसको आधारमा को मानिस कति दिन वा वर्ष बाँच्छ भनी अनुमान गर्नेछ। यो प्रोजेक्टमार्फत मानिसलाई प्रविधिको शक्ति र खतराबारे जागरुक बनाउनु रहेको वैज्ञानिकहरूले जनाएका छन्।

लाइफटुवेक नामक यो कार्यक्रममा संलग्न वैज्ञानिकहरूले यो प्रोजेक्टको कुनै खास खतरनाक लक्ष्य छैन बरु यिनले कम्प्युटर प्रोग्रामका प्याटर्नहरूको गहिराई बुझ्ने प्रयासस्वरूप यो कार्यक्रम सञ्चालन गरिएको हो। उनीहरू यी प्रोग्रामले स्वास्थ्य र सामाजिक घटनाहरूलाई पूर्वानुमान गर्न सकिन्छ कि भन्ने बुझ्न प्रयास गरिरहेका छन्।

नेचर कम्प्युटेसनल साइन्समा प्रकाशित शोधअनुसार, डेनमार्क टेक्निकल युनिभर्सिटीका प्राध्यापक जुने लेहमान भन्छन्, ‘मानव जीवतका बारेमा भविष्यवाणीका लागि यो एउटा सामान्य संरचना हो। यसको सम्भावना त असीम छ। कुनै पनि कम्प्युटरसँग ट्रेनिङ डेटा छ भने यसले कुनै पनि कुराको अनुमान लगाउन सक्छ। यसले स्वास्थ्यका बारेमा भविष्यवाणी गर्न सक्छ, तपाईं भविष्यमा मोटो वा दुब्लो के हुन्छ त्यो बताउँछ, तपाईंलाई क्यान्सर हुने सम्भावनाका बारेमा बताउँछ।

यो अल्गोरिदमले च्याटजिपिटीले झैँ काम गर्छ। जन्म, शिक्षा, सामाजिक सुरक्षा र कति घण्टा काम गरिरहेको मानिस हो भनी सारा कुराको विश्लेषण यसले गर्छ। यही विश्लेषणका आधारमा कुनै मानिस कहिले मर्छ भन्ने गरेको भविष्यवाणी ७३ प्रतिशत मिलेको एएफपी समाचार संस्थाले जनाएको छ।

त्यसो त तपाईंको मृत्यु कहिले हुन्छ भनी जाँच्ने वा जिज्ञासा बढाउने अनेक सफ्टवेयर र एपहरू बजारभरि पाइन्छन्। तर तीमध्ये अधिकांश मनोरञ्जन र अरूलाई फँसाउने उद्देश्यले बनाइएका हुन्छन्। यो भने विश्वासिलो सफ्टवेयर भए पनि सर्वसाधारणको प्रयोगका लागि सार्वजनिक नगरिएको बताइएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ९ चैत्र २०८० ०८:०० शुक्रबार

यस्ताे पनि! मृत्युको भविष्यवाणी गर्ने एआई