समाज

बाक्लो तुँवालोले ढाक्यो पोखरा

पोखराको आकाश। बाक्लो तुँवालोले पोखरा ढाकेको छ। तस्बिरः नागरिक

बाक्लो तुँवालोले यतिबेला पोखरा क्षेत्र धुम्मिएको छ। तुँवालोले ढाक्दा पोखरा वरिपरिका डाँडाकाँडा र हिमाली चुचुरा देखिन छाडेका छन्। तुँवालोले गर्दा पोखरा क्षेत्रको भिजिविलिटी पनि घटाएको छ। यत्तिमात्र नभई आँखा पोल्ने, नाक पिरो हुने लगायतका समस्या पनि बढ्न थालेको सर्वसाधारणको गुनासो छ।  

पोखराबाट अरुबेला देखिने हिमाली श्रृंखला केहीदिन देखि तुँवालोभित्रै लुकेका छन्। बाक्लो तुँवालोले भिजिविलिटी घटाउँदा पोखराबाट हुने हवाई सेवा पनि प्रभावित हुन थालेको छ। तुँवालोले ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो २ बजेमात्र खुलेको थियो। ढिलागरि विमानस्थल खुल्दा पोखराका केही उडान रद्द समेत भएका थिए। विहीबार पनि उडानमा ढिलाई भएको हवाई कम्पनिले बताएका छन्।

मौसमविद्का अनुसार अहिले पोखरालाई बाक्लो तुँवालोले छोपेको छ। सबैतिरको वनक्षेत्रमा डढेलो लाग्दा निस्केको तुँवालोले अहिले सहरलाई ढाकेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमबिद् रोजन लामिछानेले बताए।

 ‘वन क्षेत्रमा लागेको डढेलोले तुँवालो निम्त्याएको छ। यसले भिजिविलिटी त घटाएको छ नै मानव स्वास्थ्यमा पनि असर पारेको छ,’ उनले भने, ‘आखा पोल्ने र नाक पिरो हुने समस्या अहिले छ।’ काठमाडौंमा पनि यही समस्या रहेको तर, बुधबार हल्का वर्षा भएपछि कम भएको उनले बताए । अहिलेको समस्या देशैभरिको रहेको उनले बताए।

पोखरामा लामो समयदेखि वर्षा भएको छैन। वर्षा नहुँदा यहाँको आकाशमा लागेको तुँवालो हट्न नसकेको उनले बताए। ‘नेपालको पूर्वी भेगमा पानी परेकोले त्यो क्षेत्रको तुँवालो केही कम भयो। तर, पश्चिम खण्डको तुँवालो अझै हट्न सकेको छैन। पश्चिम खण्डमा खासै पानी परेको पनि छैन,’ लामिछानेले भने, ‘पानी नपरेसम्म यो तुँवालो ह्ट्ने सम्भावना रहन्न।’ पोखरा क्षेत्रमा शुक्रबार र शनिबार पानी पर्न सक्ने सम्भावना रहेपनि अहिलेको तुँवालो पूर्ण रुपमा हटेर नजाने उनले बताए। ‘पोखरामा पानी पर्ने सम्भावना त छ। तर पूर्णरुपमा तुँवालो हट्दैन। केही कम भने हुनेछ,’ उनले भने।  

यो सिजनमा ब्यापक रुपमा वन डढेलो लगाउने गर्दा पनि वातावरणमा असर परेको उनले बताए। पछिल्ला केहीवर्षदेखि यो सिजनमा वर्षेनीजसो तुँवालोले असर पार्न थालेको उनले बताए। अहिलेको तुँवालो पूर्णरुपमा हट्न कि त भीषण वर्षा हुनुपर्छ। नत्र जोडतोडले हावा चल्नुपर्छ,’ उनले भने, ‘अहिले त हावा पनि उत्तिसारो चलेको छैन।’ पानी परेको खण्डमा पश्चिम क्षेत्रमा पनि अहिले भन्दा केही राहत मिल्ने उनले बताए।  

बाक्लो तुँवालोले पोखरा विमानस्थलको भिजिविलिटी पनि घटाउने गरेको छ। विमानस्थनलकी प्रवक्ता जशोदा सुवेदी भन्छिन, ‘पोखरामा जहाज अवतरण गर्न कम्तिमा ३८ सय मिटरको भिजिविलिटी चाहिन्छ । तर, बुधबार त १५ सय मिटरमा समेत झरेको थियो। हरेक वर्ष यो समयमा पोखराको हवाई उडानमा तुँवालो बाधक बन्ने गरेको छ।’ तुँवालोका कारण हवाई उडान प्रभावित हुँदा यात्रुलाई सकस थपिने उनले बताईन। ‘बेलैमा उडान हुन पाएन भने विमानस्थलमा यात्रु भीडभाड बढ्छ। अनि व्यवस्थापनमा पनि हम्मेहम्मे हुने गर्छ,’ उनले भनिन।  

पछिल्लो समय पोखरा आसपासका जंगलमा आगलागी हुने गरेको छ । पोखरा–११ काहुँडाँडामा गत सोमबार बेलुकी भीषण आगलागी भयो। भिरालो वन क्षेत्रमा लागेको आगोले भीषण रुप लिँदा सिंगो पोखराको ध्यान काहुँडाँडातर्फ मोडिएको थियो। सोमबार बेलुकीपख सुरु भएको आगलागी मंगलबार बिहान १ बजेसम्म भीषणा थियो। त्यसबल्लतल्ल आगो केही नियन्त्रणमा आएको थियो।  

आगलागीको त्रास यतिसम्म थियो की काहुँको सिंगो बस्ती नै  जोखिममा परेको थियो। आगोको राप नजिकैको मणिपाल शिक्षण अस्पतालसम्म पनि आएको स्थानीयले बताएका छन्। काहुँमा मात्र नभई पोखरा–२५ को हेम्जा नजिकैको वन क्षेत्रमा लागेको आगो निभ्न एकसाता लागेको थियो।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काफ्लेका अनुसार यो सिजनमा मात्र कास्कीमा कम्तिमा १० हेक्टर क्षेत्रफल वनक्षेत्र आगलागीले नोक्सान भईसकेको छ। गत सोमबार राती काँहुमा लागेको आगोले करिब ३ हेक्टर क्षेत्रफल वन क्षेत्र नोक्सान भएको उनले बताए। उनका अनुसार अहिले पनि कास्कीमा कम्तिमा आधादर्जन ठाउँका वन क्षेत्रमा आगलागी भईरहेको छ। काहुँ, धम्पुस, पञ्चासे लगायतका क्षेत्रमा आगलागी भईरहेको उनले बताए।

अहिले लागेको आगो पानी नपरेसम्म नियन्त्रणमा आउन समस्या हुने उनले बताए। वनमा रुखका मुढा सल्केका हुन्छन। ती मुढाको आगो निभ्न भने समय लाग्ने उनले बताए। घाँस मात्र भएको क्षेत्रमा आगलागी हुँदा छिटो निभेपनि सल्केका मुढा निभ्न समय लाग्ने उनले बताए। ‘डढेलोले गर्दा अहिले पोखरालाई नै बाक्लो तुँवालोले ढाकेको हो,’ उनले भने।  

पोखरामा तुँवालोका कारण सर्वसाधारणले नाक पोल्ने, आँखा पिरो हुने समस्या बढेको बताएका छन। पर्यटन व्यावसायी धर्मराज पन्थी भन्छन, ‘पोखरा यतिधेरै प्रदूषित भएको छ की नाकै पोल्ने र आखा पिरो हुने समस्या थपिएको छ। मास्क नलगाई हिड्नै नसकिने अवस्था छ।’ त्यत्ति मात्र नभई हावामा पनि आगो लागेको गन्ध आउने गरेको उनले बताए। ‘घरै वरिपरि आगो लागेजस्तो गन्ध आउने गरेको छ। हावाले उडाएको खरानीका कण अहिले घरैसम्म आएको छ। पर्यटकीय सहर निकै नै प्रदूषित बनेको छ,’ उनले भने, ‘भिजिविलिटी नहुँदा पर्यटन पनि प्रभावित हुन्छ।’

पोखराको आकशमा प्याराग्लाइडिङ र अल्ट्रालाइट सेवा पनि तुँवालोका कारण प्रभावित हुने गरेको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि अल्ट्रालाइट जहाजको उडान रोकिएको बताए। ‘अल्ट्रालाइट चढेर हिमाली भेगको दृष्यावलोकन गर्न जाने हो । अहिले हिमाल पुरै ढाकिएको छ। त्यसले गर्दा उड्ने पाहुना पनि छैनन,’ श्रेष्ठले भने, ‘दृष्य केही नदेखिएपनि सर्वत्र असर परेको छ।’

प्रकाशित: ८ चैत्र २०८० १५:५९ बिहीबार

बाक्लो तुँवालो पोखरा