समाज

काठमाडौँमा २ बजेपछि पानी पर्ने सम्भावना, शनिवार अझ बढी पर्ने

काठमाडौँ उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो २ बजेपछि पानी पर्ने सम्भावना छ।

त्यसो त शनिवारसम्मै पानी पर्ने सम्भावना रहेका जानकारी दिइएको छ। आज र भोलीको तुलनामा शनिवार अझ बढी पानी पर्ने मौसमवीद्ले जानकारी दिएका छन्।

त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको बिहार राज्य आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुन लागेको हो।

कोशी र मधेस प्रदेशका एक दुई स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ। उनले कोसी र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जानकारी पनि दिएका थिए।

मौसमविद् पुडासैनीका अनुसार हाल देखिएको मौसमी प्रणालीले माथिल्लो र तल्लो दुवै वायुमण्डलमा प्रभाव पारेको हुँदा शनिवारसम्मै पानी पर्ने र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनेछ।

आजभन्दा भोलि कम पानी परे पनि शनिवार भने शुक्रवारको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए।

विशेषगरी चितवनदेखि पूर्वी तराईमा पानी पर्ने क्रम बढी रहेकाले आवश्यक सतर्कता अपनाउन पनि पुडासैनीले आग्रह गरेका छन्।

प्रकाशित: ८ चैत्र २०८० १३:१८ बिहीबार

वर्षा हुने