समाज

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। साथै उनले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरे।

यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले  आर्थिक सहयोग गरिएको छ। आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम हस्तान्तरण गरेको मुख्यमन्त्री कार्कीले बताए। मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनले बताए।

भोजपुरलाई तराईका जिल्लासँग हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेको छ। रासस

प्रकाशित: ७ चैत्र २०८० ०९:३३ बुधबार

कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की प्रदेश सभा प्रदेश सभा सदस्य विनोद बान्तावा हतुवागढीको आगलागी क्षेत्र पीडित परिवारलाई राहत रकम हस्तान्तरण