समाज

आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी सरकारकाे राहत

कोशी प्रदेश सरकारले आगलागीबाट मृत्यु भएका बालबालिकाको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहत दिएको छ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले भोजपुरको आगलागीमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन्। उनले आगलागीमा ज्यान गुमाएका दुई परिवारलाई घटनास्थल भोजपुर पुगेर मंगलबार १–१ लाख रुपैयाँ राहत हस्तान्तरण गरे।

भोजपुरको हतुवागढी-७ पिप्लेमा चैत ३ गते भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी दिपशिखा कार्की र ३ वर्षका दियुनिष कार्की  थिए।

बालबालिका खेलिरहेको बेला अचानक आगलागी भएकाे थियाे। पीडित परिवारलाई प्रदेश सरकारको कार्यविधि अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राहत प्रदान गरिएको हो।

प्रकाशित: ६ चैत्र २०८० २०:४९ मंगलबार