समाज

आठदेखि २० वर्षका गैँडा स्थानान्तरण गर्ने लक्ष्य, गरिए ३० वर्षसम्मका

यसरी हुदैछ चितवनमा गैँडा स्थानान्तरण (तस्बिरहरूसहित)

चितवन राष्ट्रिय निकुञ्ज भित्र गैँडाको आन्तरिक स्थानान्तरणको काम जारी छ। १० वटा गैँडा स्थानान्तरण गर्ने लक्ष्य राखेको वन तथा वातावरण मन्त्रालयले सोमबारसम्म तीन वटा भाले गैँडा स्थानान्तरण गरेको छ।

निकुञ्जको पश्चिम खण्डमा गैँडाको सङ्ख्या बढ्दै गएपछि आन्तरिक स्थानान्तरण गर्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। ‘निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी छ।

‘त्यहाँका गैँडा शुक्रबारबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको छ’, तिवारीले भने ‘शुक्रबार, शनिबार र आइतबार गरेर तीन वटा गैँडा स्थानान्तरण गरिसकिएको छ।’

उनका अनुसार अहिले पश्चिम क्षेत्रका १० वटा गैँडा स्थानान्तरण गर्ने योजना छ। विशेष गरेर प्रजनन गर्न सक्ने क्षमता भएका गैँडालाई स्थानान्तरण गरिने तिवारीले जानकारी दिए।

‘हामीले कति दिनमा स्थानान्तरण गर्न सक्छौँ त्यो भन्न सक्दैनौँ, अहिलेलाई १० वटा स्थानान्तरण गर्ने भनेका छौँ,’ उनले भने ‘बुढाभन्दा पनि वयस्क गैँडालाई खोजेर सार्दै छौँ।’

अहिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दिव्यपुरी मध्यवर्ती सामुदायिक वनबाट २ वटा र डिभिजन वन कार्यालय नवलपरासी पूर्वको क्षेत्रबाट १ वटा गैँडालाई स्थानान्तरण गरिएको छ। उनीहरूलाई सौराहा सेक्टरको प्यारी ढापबाट पारी कोर एरियामा छाडिएको छ। स्थानान्तरण गरिएका गैँडा ८, १७ र ३० वर्ष उमेरका छन्।

निकुञ्जको लक्ष्य ८ देखि २० वर्ष उमेर समूहका गैँडा स्थानान्तरण गर्ने थियो। तर, गैँडा डार्क गर्ने समयमा उमेर पहिचान गर्न कठिन भएपछि ३० वर्षको गैँडा पनि स्थानान्तरण गरिएको निकुञ्जले जानकारी दिएको छ। किन गर्न थालियो गैँडाको आन्तरिक स्थानान्तरण नेपालमा सबैभन्दा बढी एक सिङे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा पाइन्छ।

पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन्। जसमध्ये पश्चिम सेक्टरमा मात्रै ४५३ गैँडा छन्। पूर्वी सेक्टरमा २४१ वटा गैँडा छन्। यिनीहरूलाई व्यवस्थित गर्न पश्चिम तर्फका गैँडा पूर्व तर्फ स्थानान्तरण गर्न लागिएको हो।

गैँडा स्थानान्तरण पश्चात् पश्चिम र पूर्वका गैँडाको बिचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ। गैँडा स्थानान्तरणले यसको संरक्षणमा सहयोग पुग्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगर बताउँछन्।

‘एकै क्षेत्रमा गैँडा बढी भए उनीहरूलाई आहारा पुग्दैन। एक आपसमा जुधेर मर्न सक्छन्। उनीहरू मानव वस्तिमा निस्कन्छन्। अनि मानव र वन्यजन्तुबिच द्वन्द्व बढ्छ,’ पुनले भने ‘संरक्षण गर्नका लागि पनि स्थानान्तरण आवश्यक छ।’ जेनेटिक एक्सचेन्ज समेत हुने उनले बताए। ‘अहिले जेनेटिकका कारण हानिकारक कुरा पनि हुन्छ। क्षमता विकासका लागि आन्तरिक रूपान्तरण जरुरी छ’, उनले भने।

गैँडा स्थानान्तरणका लागि घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गरिएको उनले बताए। कसरी गरिन्छ गैँडाको स्थानान्तरण गैँडा स्थानान्तरण गर्न त्यति सजिलो छैन। ठुलो शरीरको जङ्गली जनावरलाई नियन्त्रणमा लिन हात्ती सहित ठुलो जनशक्ति परिचालित छ। गैँडा स्थानान्तरणमा निकुञ्जका हात्ती, हात्तीसारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको टोली परिचालन गरिएको छ। 

त्यस्तै ६ वटा हात्ती प्रयोग गरिएको पुनले जानकारी दिए। नियन्त्रणमा लिनु अघि प्राविधिक टोलीले गैँडाको बसोबास क्षेत्र पहिचान गर्दछन्। त्यसपछि भाले, पोथी र उमेर पत्ता लागेपछि वरिपरिबाट हात्तीले घेरेर डार्क गरिन्छ। डार्क गरेको १० देखि १५ मिनेटमा बेहोस हुन्छ। त्यसपछि आँखा कान र मुख थुन्ने काम गरिन्छ। डार्क गरेको एक घण्टाभित्र उनीहरूले स्थानान्तरणको काम सक्नुपर्दछ। त्यो अवधिमा काम गर्न नसके दोस्रो डोज दिनुपर्छ। प्राविधिक काम सकेपछि गैँडालाई ट्रकमा राखेर सम्बन्धित ठाउँसम्म पुर्‍याइन्छ। छाड्ने समयमा गैँडालाई बेहोस बनाउन पर्दैन। प्राविधिकले गैँडा सुरक्षित साथ बाहिर निस्कने गरी खोर बनाएका हुन्छन्।

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहको नेतृत्वमा प्राविधिक टोली स्थलमै खटिएको छ। यस्तै चितवन राष्ट्रिय निकुञ्ज प्रमुखको नेतृत्वमा आन्तरिक स्थानान्तरण कार्यदल गठन समेत गरेर काम अगाडि बढाइएको छ।

जसमा नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई मधेस भू–परिधि कार्यालयका प्रतिनिधि समेत समावेश छन्। चितवन निकुञ्ज सहित नेपालमा ७७५ वटा गैँडा छन्।

बर्दियामा ३८ र शुक्लाफाँटामा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैँडा छन्। चितवन राष्ट्रिय निकुञ्जमा आधिकारिक रूपमा आन्तरिक स्थानान्तरण पहिलो पटक भएको हो। तर, यसअघि पनि यहाँ जोखिममा परेका गैँडालाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको निकुञ्ज प्रमुख पुनले जानकारी दिए।

प्रकाशित: ५ चैत्र २०८० १८:२४ सोमबार