समाज

बाल विवाह गाउँभन्दा नगरमा बढी

सरकारले महिला र पुरुष दुवैका लागि कानुनी रूपमा विवाहको न्यूनतम उमेर तोकिदिएको छ। अर्थात्, महिला–पुरुष कसैले पनि २० वर्ष नपुगी विवाह गर्न पाउँदैनन्। तर महिलाका हकमा १८ वर्ष उमेर नकाट्दै ३५.१ प्रतिशतले विवाह गर्ने गरेको पाइएको छ। 

राष्ट्रिय जनगणना २०७८ ले यस्तो तथ्य उजागर गरेको हो। यसलाई बाल विवाहका रूपमा लिइन्छ। महिलाका हकमा बाल विवाहको यस्तो अवस्था मधेस प्रदेशमा सबैभन्दा बढी रहेको जनगणनाले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार हाल २० देखि २४ वर्ष उमेर समूहमा पर्ने महिला, जसले १८ वर्ष उमेर पुग्नुअगावै विवाह गरेका छन्, त्यस्ता महिलाको संख्या नेपालभरिमा ३५.१ प्रतिशत छ।

कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार नेपालमा विवाहको औसत उमेर पुरुषका हकमा २५.५ वर्ष र महिलाका हकमा २१.८ वर्ष छ। महिलाको तुलनामा पुरुषको विवाह उमेर करिब चार वर्षले बढी देखिएको छ। १८ वर्ष नपुग्दै विवाह गरेका अर्थात् बाल विवाह गरेका महिला नगरपालिकामा बस्ने ३६.३ प्रतिशत र गाउँपालिकामा बस्ने ३४.३ प्रतिशत छन्।

‘नयाँ तथ्यांकअनुसार बाल विवाह गर्ने गाउँपालिकामा बस्नेभन्दा नगरपालिकामा बस्ने २ प्रतिशतले बढी देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘हामीकहाँ धमाधम नगरपालिका घोषणा त भए तर अझै नगरपालिका, महानगरपलिका र उपमहानगरपालिकाभित्र ग्रामीण प्रकृतिका क्षेत्रहरू यथावत् रहेका कारण बाल विवाह गर्ने अवस्थामा कमी आउन नसकेको जनगणनसम्बन्धी अध्ययन–अनुसन्धानले प्रस्ट्याएका छन्। अझै पनि नगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने परिवारमा जनचेतनामूलक शिक्षाको अभाव देखियो। अब राज्यको नीति त्यसतर्फ केन्द्रित हुनुपर्ने देखियो।’

कार्यालयले प्रकाशन गरेको ग्रामीण तथा सहरी क्षेत्रको वर्गीकरणअनुसार नगरपालिकामा पर्ने अझै १ हजार २४४ वटा वडा ग्रामीण प्रकृतिका छन्। त्यस्ता वडा उपमहानगरपालिका २१ र महानगरपालिकाका ८ वटा छन्।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै तराईमा ३६.६ प्रतिशत र पहाडमा सबैभन्दा कम ३२.६ बाल विवाह हुने गरेको छ। हिमाली क्षेत्रको पनि बाल विवाह गर्नेको संख्या पहाडमा भन्दा थोरै कम अर्थात् ३२.१ प्रतिशत छ। प्रदेशअनुसार बाल विवाहको आँकडा हेर्दा मधेस अगाडि देखिन्छ। मधेसमा ४२.४ प्रतिशत बाल विवाह हुँदा त्यसलाई कर्णालीले पछ्याइरहेको देखिन्छ।

कर्णालीमा ३७.९ प्रतिशत बाल विवाह हुने गरेको जनगणनाको तथ्यांकले देखाएको छ। सबैभन्दा कम बाल विवाह बागमती प्रदेशमा २९.३ प्रतिशत छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा २९.१ प्रतिशत बाल विवाह हुने गरेको पाइएको छ।

‘तराई क्षेत्र र मधेस प्रदेश दुवैमा बाल विवाहको उच्च दरले मधेसी समुदायमा बाल विवाह अत्यधिक हुने गरेको देखिन्छ,’ कार्यालयका उपप्रमुखसमेत रहेका तथ्यांक अधिकृत डा. हेमराज रेग्मीले भने, ‘जुन न्यून सामाजिक आर्थिक विकासका साथै शिक्षाको न्यून स्तर, उच्च प्रजनन क्षमता, उच्च मातृ मृत्यु दर र अन्य कारकहरूको संकेत हो।’

२०७८ को जनगणनाअनुसार १० वर्ष वा सोभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३३.१ प्रतिशत मात्र अविवाहित छन्। जसमध्ये पुरुषको प्रतिशत महिलाको भन्दा १० प्रतिशतले बढी छ। अर्थात् ३८ प्रतिशत पुरुष र २८ प्रतिशत महिला अविवाहित छन्।

यसैगरी १० वर्ष वा सोभन्दा माथिको सम्पूर्ण जनसंख्यामा ५९.१ प्रतिशत पुरुष र ६४.३ प्रतिशत महिला विवाहित छन्। यसपटकको जनगणनाले सम्बन्ध विच्छेदको पनि तथ्यांक संकलन गरेको छ, जसअनुसार सम्बन्ध विच्छेद भएर र छुट्टिएर बसेका०.६ प्रतिशत छन्। विधवा–विधुर ५ प्रतिशत छन्। विवाहित भई विधवा-विधुर बनेका, छुट्टिएका र सम्बन्ध विच्छेद भएका महिलाको प्रतिशत पुरुषको भन्दा बढी रहेको तथ्यांक छ।

२.२ प्रतिशतमा कुनै न कुनै अपांगता

जनगणना २०७८ ले मुलुकभित्रका अक्सर बसोबास गर्ने सबै व्यक्तिको अपांगतासम्बन्धी विवरणसमेत संकलन गरेको थियो। जसका लागि १२ प्रकारका अपांगतासहितका प्रश्न सोधिएको थियो। जसअनुसार नेपालमा कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको जनगणना २०७८ ले प्रस्ट्याएको छ।

अपांगताको अवस्था २०५८ मा ०.४ प्रतिशत र २०६८ मा १.९ प्रतिशत थियो। ‘अपांगताको सन्दर्भमा महिलाभन्दा पुरुष बढी छन्। महिलाका १.१ प्रतिशत र पुरुषका १.२ प्रतिशत छन्,’ निर्देशक लामिछानेले भने, ‘सबै भौगोलिक क्षेत्र, प्रदेश र ग्रामीण-सहरी नगरपालिकामा अपांगताको अवस्था लगभग समान छ। तर लैंगिक भिन्नताअनुसार कर्णालीमा पुरुषको प्रतिशत बढी छ।’

प्रकाशित: ५ चैत्र २०८० ०७:०४ सोमबार

बाल विवाह गाउँ महिला–पुरुष राष्ट्रिय जनगणना २०७८ महिला १८ वर्ष